राजनीति
गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छः सभापति थापा

काठमाडौं, असार २६ –
नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै यो घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण भएको बताएका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।
‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ । यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो,’ उनले लेखेका छन् ।
उनले यो विषयलाई राजनीतिक बहस वा दोषारोपणको विषय नभई एउटा नागरिकको जीवन, परिवारको पीडा र मानवीय संवेदनासँग जोडेर हेर्न आग्रह गरेका छन् ।
‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ थापाले भनेका छन् ।
उनले गणेश नेपालीका आश्रित परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैले आफ्नो ठाउँबाट सोच्नुपर्ने बताएका छन् ।
थापाले विगत र वर्तमानमा कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने उल्लेख गरेका छन् ।
उनले एउटा युवा किन यस्तो निराशाको अवस्थामा पुग्छ र आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सिर्जना हुन्छ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन् ।
‘राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ?’ थापाले प्रश्न गरेका छन् ।
उनले समाज, परिवार, राज्य र नागरिकका रूपमा कहाँ कमजोरी भयो भन्ने विषयमा इमानदार समीक्षा आवश्यक रहेको बताएका छन् ।
‘यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ,’ उनले लेखेका छन् ।



























