Breaking News
कीट अभावले चितवनको कोरोना परीक्षण ल्याब दुई दिनदेखि बन्द

चितवन, वैशाख २१–
कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि चितवनको भरतपुरमा स्थापना गरिएको पीसीआर ल्याब दुई दिनदेखि बन्द भएको छ ।
कोरोना परीक्षण गर्ने कीट अभावका कारण दुई दिनदेखी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला बन्द भएको हो । दोस्रो पटक ल्याइएको एक सय वटा कीट समेत सकिए पछि प्रयोगशाला नै बन्द गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । ‘दोस्रो पटक ल्याइएको कीट सकिएपछि प्रयोगशाला बन्द गरिएको हो, देशैभर यो समस्या भएकोले बन्द गर्नु परेको हो ।’
यही प्रयोगशालामा परीक्षण गर्दा चितवनमा दुई जना कोरोना संक्रमित फेला परेको थियो । प्रयोगशाला संचालनमा आउँदा धमाधम आरटी पीसीआर मेसिन मार्फत कोरोराना परीक्षण गरिएको थियो । तर कीट अभाव हुँदै गएपछि विस्तार परीक्षणको काम पनि कम हुँदै गइरहेको छ । तर अति आवश्यक व्यक्तिहरुको भने स्वाब संकलन गरी हेटौंडा पठाउने गरिएको सूचना अधिकारी पौडेलले बताए । सोही अनुरुप शनिबार १२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएको थियो ।
भरतपुर प्रयोगशालामा ५७३ भन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।
























