Breaking News
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को संक्रमण लक्षणको परिभाषा परीवर्तन गर्ने !

काठमाडौँ, वैशाख ७–
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका लागि कोभिड–१९ संक्रमणको लक्षणको परिभाषा नै परिवर्तन गर्ने तयारी गरेको छ ।
नेपालमा कोभिड–१९ को संक्रमण देखिएका अधिकांश मानिसमा ज्वरो नआएको अध्ययनबाट पाइएपछि परिभाषा नै परिवर्तन गर्ने तयारी गरेको हो ।
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ लगायत अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले चार महिना अघि चीनको वुहानबाट फैलिएको यो संक्रमणको मुख्य लक्षण ज्वरो आउनु, खोकी लाग्नु र श्वास फेर्न गाह्रो हुनु भएको भन्दै त्यसबारे सचेतना जगाउन विश्वका सबैजसो मुलुकलाई आव्हान गरेका थिए।
नेपालमा पनि ती लक्षणहरुलाई आधार मान्दै मन्त्रालयले मानिसमा कोभिड–१९ को संक्रमणको परीक्षण सुरु गरेको थियो ।
तर चर्को दबाबपछि मन्त्रालयले हाल आएर मुलुकभर परीक्षणको दायरा बढाउँदै जाँदा ज्वरो नआएका मानिसमा पनि कोभिड–१९ को संक्रमण पुष्टि हुने क्रम बढेको छ ।
त्यसमा आशंका उत्पन्न भएपछि स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाका केही चिकित्सकले शुक्रबार भन्दा अघि देखिएका १५ जना कोभिड–१९ को संक्रमणका बिरामीमाथि अध्ययन सुरु गरेका थिए ।
अध्ययनकाक्रममा उनीहरुमध्ये १३ जनालाई ज्वरोनै नआएको पाइएपछि कोभिड–१९ को संक्रमणको लक्षण परिवर्तनका लागि महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव गरेकोमा मन्त्रालय त्यसमा सहमत भएको मन्त्रालय स्रोतले जनाएको छ ।
त्योसँगै महाशाखाले कोभिड–१९ संक्रमणको लक्षण परिवर्तन गरी छिट्टै नै नयाँ किताव प्रकाशन गर्ने तयारी गरेको छ ।
शुक्रबार र शनिबार उदपुर, चितवनमा थपिएका कोभिड–१९ संक्रमणका १५ जनामा पनि ज्वरोको लक्षण नभएको उनीहरुको उपचार गरिरहेका चिकित्सकहरुले बताएका छन् ।
























