Breaking News
कोरोनाभाइरसका कारण नक्कली औषधीको व्यापारमा ह्वात्तै वृद्धि

काठमाडौँ, चैत ३०-
विश्वव्यापी औषधी उद्योग १० खर्ब डलरभन्दा बढीको छ र यसको आपूर्ति गर्ने सञ्जाल व्यापक ठूलो छ ।
विश्वभरि नै मानिसहरूले अत्यावश्यकीय औषधीहरू थुपारेर राखिरहेका छन् । यद्यपि, विश्वका दुई ठूला औषधी आपूर्ति गर्ने देश चीन र भारत लकडाउनमा गएपछि, आपूर्ति भन्दा माग बढेको छ र खतरनाक खालका नक्कली औषधीहरूको व्यापार बढिरहेको छ ।
चीन र भारत जस्ता देश प्रमुख औषधी उत्पादक हुन् भने युरोप, दक्षिण अमेरिका वा एसियामा रहेका गोदामहरूमा त्यसलाई प्याकेज गरिन्छ र विश्वभरका सबै देशहरूमा वितरकले औषधी पठाउँछन् ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेकै साता औषधीसम्बन्धी अपराधविरुद्ध काम गर्ने इन्टरपोलको विश्वव्यापी इकाइ अपरेसन पान्जियाले जम्मा सात दिनमा ९० वटा देशभरीबाट १२१ जनालाई पक्राउ गरेको थियो।
त्यसक्रममा १ करोड १४ लाख डलर बराबरका घातक खालका औषधी जफत भएको थियो ।
विश्वस्वास्थ्य सङ्गठनका अनुसार ३० अर्ब डलर बराबरका नक्कली वा म्याद नाघिसकेका औषधीको व्यापार न्यून र मध्यम आय भएका देशहरूमा हुने गर्छ ।
त्यसरी व्यापार हुने औषधीले शरीरमा नराम्रो असर गर्न सक्छ अथवा ती औषधीमा या त आवश्यक तत्त्व हुँदैन वा खराब तत्त्व हुन्छ।
औषधी बनाउन आवश्यक पर्ने कच्चा सामग्री पनि अहिले निकै महङ्गो भएकोले उत्पादक र आपूर्तिकर्ता त्यसका लागि कठिनाइ भोगिरहेका छन् ।
विश्वभरका औषधी उत्पादक कम्पनीहरू औलोको औषधीको विश्वव्यापी आपूर्ति अहिले सङ्कटमा रहेको बताउँछन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका ब्रिफिङहरूमा क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनको सम्भावनाबारे बताउन थालेपछि यी औषधीहरूको माग विश्वव्यापी रुपमा बढ्न थालेको छ ।
यी औषधीहरू सामान्यतः औलो निको पार्नका लागि प्रयोग हुन्छन् ।
क्लोरोक्वीन वा हाइड्रोक्सीक्लोरोक्वीनले कोभिड-१९ गराउने भाइरसविरुद्ध निश्चित रुपमा काम गर्छ भन्ने कुनै प्रमाण नभएको कुरा विश्वस्वास्थ्य सङ्गठनले पटक पटक दोहोर्याएको छ ।
धेरै सङ्ख्यामा देशहरू लकडाउनमा गइरहँदा, उत्पादनमा कमी आउनुमात्रै समस्या होइन । यस्तो अवस्थामा मानिसहरूले आत्तिएर आवश्यक पर्नसक्ने औषधी थुपारेर ह्वात्तै माग बढ्नु पनि समस्या हो।
घट्दो आपूर्ति र बढ्दो मागको यस्तो अमिल्दो अवस्थाले गर्दा नै नक्कली औषधीको बिक्री हुने र उत्पादनमा खतरनाक वृद्धि हुने भन्दै विश्वस्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ।
























