Breaking News

कोरोनाबारे चितवनमा खुल्ला छलफल,पूर्व तयारीमा जुट्ने सरोकारवालाको प्रतिबद्धता

Banner

चितवन,चैत ४-

एभिन्युज टेलिभिजनले भरतपुरमा कोरोनाको रोकथामका उपाय र चितवनमा भएको तयारीबारे ‘कोरोना कहर’ नाममा खुला छलफल चलाएको छ । छलफलका क्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना यदि फैलिई हाल्यो भने हटेर होइन डटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘प्रदेश सरकारको तर्फबाट आवश्यक पूर्वतयारीहरु सञ्चालन गरिरहेका छौँ ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल यो सङ्कटको घडीमा असाध्यै सकारात्मक भएर जिम्मेवारी ढङ्गले सबै उभिन जरुरी रहेको बताइन् । उनले भनिन्, ‘सुरुआती अवस्थामा जिम्मेवार भएर प्रयास गर्न म अनुरोध गर्छु । रोग भित्रिन नदिन पहिलो चरणमा हामी चनाखो छौँ । समिति गठन गरिसकेका छौँ । जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छौँ । १४ जनाको एक्सन टिम कार्यदल बनाएका छौँ ।’

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले कोरोनाको बारेमा आफ्नो प्रस्तुति दिँदै व्यक्तिको सबै स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताए । उनले भने, ‘मानिसहरु सुरक्षाको उपाय अपनाइरहेका छन् । झण्डै ४० वर्ष पहिले यस भाइरसको सङ्क्रमणबारे भविष्यवाणी गरेका थिए । आज त्यस्तै भयो । यस्तै केही वर्ष अगाडि कोरोना सार्स बनेर आएको थियो ।’

उनले भाइरसको सुरुआत जनावरबाट भए पनि मानिसबाट मानिसमा सर्न थालेपछि समस्या हुने बताए । उनले सुरुदेखिनै यसले समस्या दिन सक्छ भन्नेमा विज्ञहरुले भविष्यवाणी गरिसकेको जानकारी पनि दिए । उनले भने, ‘यस्तो सङ्कटकालको घोषणा यो शताब्दीमा जम्मा पाँच पटक भएको छ ।’

फिजिसिएन डा अधिकारीले एक लाख ७५ हजार जना प्रभावित र सात हजार बढीको निधन भएको तथ्याङ्क प्रस्तुत गरे । उनले चीनको दर घट्न थाल्यो भने इरानलगायत युरोपमा धेरै फैलन थालेको जानकारी दिए । विश्वका १० ठूला अध्ययनमा एक नम्बर लक्षण ज्वरो, सुख्खा खोकी, ज्यान गल्नु र आलश्य हुनुजस्ता समस्याहरु देखिन सक्छन् ।

त्यस्तै, कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले स्थानीय तहमा भइरहेका प्रयासहरुबारे जानकारी गराए । उनले भने, ‘जनसङ्ख्या वृद्धि, मौसम परिवर्तन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रा नै फैलनुका मुख्य कारणहरु हुन् ।’ उनले नेपालमा ४७८ जनालाई परीक्षण गरेको जानकारी दिँदै अहिले स्वास्थ्य मन्त्रालयले सेल्फ क्वारेन्टाइनलाई प्राथमिकता दिएको बताए । उनले इटालीमा भाइरस अस्पतालबाटै फैलिएको जानकारी दिए ।

चितवनका अस्पतालको तयारीबारे पुरानो मेडिकल कलेजकी डाक्टर प्रिया पाठकले अस्पतालले गेटकै काउन्टरबाट तापक्रम नापेर अस्पतालको मुख्य भवनमा नलगेर पछाडि ओपीडी र अरु परीक्षण गराउने तयारी गरिरहेको बताइन् । चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले भने, ‘अस्पतालमा हेल्थ डेस्क स्थापना गरेका छौँ । सुखद् समाचार नै अहिले छ । आइसोलेसन रुम छ इमरजेन्सीमा । यदि भइहाल्यो भने हेर्ने उपकरण हामीसँग छैन । पोशाक हामीसँग छैन । सम्भावित बिरामी आएमा सहयोग गर्न हामी तयार छौँ । सम्पूर्ण सहयोग रहन्छ ।’

त्यसैगरी, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले मेडिकल प्रविधि र जनशक्ति सहयोग गर्न तयार रहेको बताए । नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले काम भन्दा बढी कुरा भइरहेको विचार राखे । उनले भने, ‘एन ९५ माक्स राज्यले किनेर ल्याएको छैन । काठमाडौँमा मात्र भेन्टिलेटर ल्याउनु गलत हो ।’

नेकपाका अध्यक्ष यमबहादुर परियारले उपचार होइन रोकथामको प्रक्रियामा राज्य, सरकार सबैलाई सहयोग गर्न तयार रहेको बताए । उनले देश आक्रान्त भएको अवस्थामा कालोबजारी नगर्न र रोकथाम गर्न सरकारलाई अनुरोध समेत गरेका छन् । छलफलमा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कोरोना रोकथामका लागि सरकारले प्रतिबद्ध भएर काम गर्न नसकेको बताए ।

होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले व्यवसायीमा कोरोनाको मार परेको भन्दै १५ प्रतिशत पर्यटनमा असर गरेको बताए । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कोरोनाको प्रभावले उद्योगीहरु कमजोर बन्ने सम्भावना देखिएको भन्दै पोल्ट्री र डेरीलगायतका उद्योगहरुमा सहयोग गर्न सरकारलाई अनुरोध गरेको बताए । छलफलमा औषधि व्यवसायीहरुले ६ महिनासम्म कुनै पनि औषधिको अभाव नहुने स्पष्ट पारे । उनीहरुले कच्चा पदार्थको भने समस्या भएको बताए ।

रत्ननगरका मेयर नारायण वन कोरोनाले सबैलाई मानसिक असर गरेको विचार राखे । जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना श्रेष्ठले सचेतनामूलक कार्यक्रम बढी हुनुपर्ने बताइन् । छलफलमा सुरक्षा निकायका अधिकारीहरुले केही समस्या प¥यो भने खटिएर काम गर्न तयार रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>