कृषि

पशुबीमा बढ्दै, कृषिबीमा घट्दै, कसरी गर्ने बीमा ?

Banner

सन्तोष अधिकारी

नारायणपुर, फागुन २३-

सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषिबीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो । सरकारले कृषिबीमा कार्यक्रमअन्तर्गत कृषि तथा पशुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएता पनि यसबारे कृषकलाई थाहा नै छैन ।

व्यावसायिकरुपमा फर्म नै सञ्चालन गरेर पशुपालन तथा कृषि फर्म सञ्चालन गरेका कृषक पनि बैंकबाट ऋण लिन मात्रै बीमा गर्नुपरेको बताउँछन् तर उनीहरुलाई सरकारले पशु तथा कृषिबीमा गर्दा सहुलियत दिएको बारेमा जानकारी नभएको बताएका छन् । गाउँघरमा निर्वाहका लागि पालिएका दुई चारवटा पशुको बीमा गरेका किसान भने सरकारको कदमप्रति सन्तुष्ट देखिएका छन् । घोराही उपमहानगरपालिका क्षेत्रका तरकारी उत्पादक कृषक कसैले पनि बालीको बीमा गराएका छैनन् भने घरमा पालेका पशुको पनि बीमा गरेका छैनन् । उनीहरु बीमा गर्दा धेरै रकम भुक्तानी गर्नुपर्ने डरले बीमा नगरेको बताउँछन् । उनीहरुले कृषि तथा पशुबीमा गर्दा सरकारले सहयोग गरेकोबारे जानकारी नभएको बताए ।

फर्म नै सञ्चालन गरेर पशु पाल्दै आएका कृषकले भने अहिले बीमा गराउन थालेको बताएका छन् । घोराही उपमहानगरपालिका–३ मा रहेको देव पशुपन्छी फर्ममा अहिले १२ वटा गाई छन् । शुरुमा दुई÷चार गाईभैँसी पाल्दै आउनुभएका देवनारायण शर्माले व्यावसायिकरुपमै पशुपालन गर्ने भन्दै २०७४ को चैत महिनामा फर्म दर्ता गराउनु भएको हो । फर्म सञ्चालन गर्नुभन्दा पहिले पशुबीमा बारे सुने पनि धेरै पैसा तिर्नुपर्ने हुन्छ होला भन्दै बीमा नगराएको उनले अहिले सबै पशुको बीमा गए । पशुबीमा गर्दा सरकारले ७५ प्रतिशत रकम ब्यहोर्ने र २५ प्रतिशत मात्रै किसानले तिर्नुपर्ने जानकारी पाएका शर्माले जोखिम कम गर्न बीमा गरेको बताए । “पहिला थाहा थिएन र पशुको बीमा गरिन्नथ्यो तर अहिले धेरै पाल्दा धेरै नै जोखिम हुने भएकाले बीमा गरेको हो”, शर्माले भने । पशुबीमा गर्दा किसानलाई धेरै फाइदा हुने तथा आफ्नो लगानी सुरक्षित हुने भएकाले बीमा गरेको उनले बताए । जिल्लामा कति पशुको बीमा गरिएको छ भन्ने यकिन तथ्याङ्क नभए पनि पशुपालक कृषकले भने बीमा गर्ने गरेको बीमा कम्पनीले बताएका छन् ।

दाङ घोराहीमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका अनुसार यो आर्थिक वर्षको पुस मसान्तसम्म तीन हजार पशुको बीमा गरिएको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षको छ महिनामा ५०० बढी पशुको बीमा गरिएको वरिष्ठ शाखा प्रबन्धक रवी गौतमले जानकारी दिए । अहिले पशुपालक कृषकलाई कृषि सहकारीले बीमाबारे जानकारी दिन कार्यक्रमको आयोजना गर्ने गरेकाले पनि पशुबीमा गर्ने कृषक बढेको उनले बताए । “कृषि सहकारीले पशु बीमाबारे जानकारी दिन कार्यक्रमको आयोजना गरेर बोलाउने गरेका छन्, हामीले गएर बीमाबारे जानकारी दिँदा कृषक उत्साहित हुन्छन्”, गौतमले भने । पशुमा जस्तै सरकारले कृषिमा पनि सहुलियत दिएको भए पनि कृषिबीमा भने कमै हुने गरेको उनले बताए ।

कसरी गर्ने बीमा

कृषि तथा पशुको बीमा गर्दा कम्पनीको कार्यालयमा गई आफूले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरी फाराम बुझाउनुपर्छ । बीमा कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आइसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली बीमा गरिदिन्छन् । कृषि बीमाको क्षेत्रमा जति प्रिमियम लाग्ने हो त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले तिर्नुपर्दछ । अहिलेको सरकारले भ्याट छुट गरेका कारण अलिक सहज भएको बीमा कम्पनी बताउँछन् । रु एक लाख बराबरको कृषिजन्य वस्तुको बीमा गर्दा रु पाँच हजार बीमा शुल्क तिर्नुपर्छ ।

पाँच हजार बीमा शुल्कमध्ये रु ३ हजार ७५० सरकारले अनुदान दिन्छ भने रु एक हजार २५० किसान आफैँले ब्यहोर्नुपर्छ । यसरी बीमा गरिसकेपछि पशुपक्षी वा बाली नोक्सान भएको तीन दिनभित्र कृषकले बीमा अभिकर्तालाई जानकारी गराउनुपर्छ । जानकारी गराएको १५ दिनपछि प्राविधिकबाट प्रमाणित गराएको प्रमाणपत्र, सक्कल बीमालेख र सर्जीमिन मुचुल्का पेश गरेपछि ठाउँ हेरी बढीमा एक महिनाभित्र क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनुपर्छ, अन्यथा क्षतिपूर्ति पाइँदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>