चितवन विशेष

भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

Banner

चितवन, असार १७-

बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् ।

दैनिक तीन हजार हाराहारी बिरामी आउँदा चाप थेग्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेको पुरानो मेसिनलाई मर्मतसंहार गरी थप अर्को मेसिन जडान गरेर आजदेखि परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागिएको हो । मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा आएर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो । प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिने उहाँले बताउनुभयो । हाल अस्पतालमा १० वटा काउन्टरबाट टिकट काट्ने गरिएको छ । क्रमशः नसक्नेका लागि एकदुई वटा मात्रै काउन्टर राख्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म अस्पताललाई काउन्टरलेस बनाउने योजनामा छु, नसक्नेहरूका लागि एकदुई वटा काउन्टरमा झार्नुपर्छ ।”

मोबाइल एपबाट समेत काम गर्न मिल्ने गरी योजना बनाएको डा बगालेले बताउनुभयो । स्वास्थ्य बिमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम र मान्य अवधिसमेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ । आजदेखि परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै कामसँगै हुनेछ । क्रमशः काउन्टर घटाउँदै लैजाने उहाँले बताउनुभयो ।

रगत परीक्षणलगायतको रिपोर्ट पनि मेसिनबाटै लिने व्यवस्था गरिएको छ । परीक्षण गर्दा दिईएको रसिदमा रहेको बार कोर्ड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरिएको छ । यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् । निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएपछि यहाँ बिरामीको चाप बढ्दै गएको छ । अस्पताल आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गर्दछन् । सबै सुविधा अस्पतालमा हुने भएपछि टाढाटाढाबाट पनि बिरामी आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>