समाचार
चार विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ, फागुन २३-
प्रतिनिधिसभाको आजको बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ मा विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो ।
कोभिड–१९ को संवेदनशीलताबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।
नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन गर्नुभएको थियो । सो प्रस्तावमा कोभिड–१९ को जोखिमका हिसाबले १५औँ संवेदनशील मुलुकमा रहेकाले यस स्थितिमा पूर्वतयारी र रोकथामका लागि पर्याप्त काम हुन नसकेको तर सरकारबाट उच्चस्तरीय समन्वय समन्वय समिति गठन हुनु सराहनीय रहेको उल्लेख छ ।
प्रस्तावमा उक्त भाइरसबारे आम जनतामा सही ढङ्गले सूचना दिई नेपाल बाहिर रहेका नेपालीको व्यवस्थापन र नेपाल भित्रिने पर्यटकको व्यवस्थापन गर्न माग गरिएको छ ।
“यो कुनै एउटा मन्त्रालय र सरकार वा निकायको मात्र जिम्मेवारी होइन, व्यक्ति समुदाय सबैतहका सरकार गैरसरकारी र साझेदार संस्था सबै एक ठाउँमा रहेर यस चुनौतीको सामना गर्नुपर्छ”, प्रस्तावमा भनिएको छ, “विश्वव्यापी जनस्वास्थ्य आपत्कालको यस अवस्थामा नेपालको सम्भाव्य जोखिमसँग जुध्नका लागि सबै तह र निकाय एकजुट हुनुपर्ने भएकाले यसलाई साझा अभियान र राष्ट्रिय सङ्कल्पका रुपमा अगाडि बढाउन आवश्यक छ ।”
जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै सांसद थापाले तयारी गर्दा गर्दै पनि सङ्क्रमण फैलियो भने अहिले नै गर्नुपर्ने काम केहो भन्ने विषयमा तयारी गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले भाइरस सङ्क्रमण हुन नदिन सबैको आआफ्नो जिम्मेवारी रहेको बताउनुभयो । यसका लागि एकीकृत कार्ययोजना आवश्यक भएको सांसद थापाले बताउनुभयो ।
कसले के काम गर्ने भन्ने कुरा स्पष्टरुपमा व्यवस्थापन गर्नुपर्छ भन्दै थापाले संसद्बाट विशेष नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बाहिरबाट आएका केही विदेशी सहजरुपमा नेपाल प्रवेश भएको र उनीहरु कहाँ छन् भन्नेबारेमा सरकारले ध्यान दिन नसकेको भन्दै उहाँले सरकारलाई गम्भिर हुन आग्रह गर्नुभयो ।
सो प्रस्तावमा सत्तापक्ष र प्रतिपक्षका सांसदले छलफलमा भाग लिँदै कोरोना भाइरसको संवेदनशीलतालाई मनन गरी सम्भाव्य जोखिमको न्यूनीकरणका लागि व्यवस्थापकीय प्राविधिक तयारीमा जुट्न आग्रह गर्नुभयो ।



























