समाज

बुद्धले बनाए ‘गौतम बुद्ध’

Banner

खेमराज गौतम

गलकोट, फागुन २०-

नाम बुद्ध चौधरी, घर लुम्बिनी । उमेर ४० वर्ष, मूर्तिकलामा २५ वर्षदेखिको अनुभव । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा १०५ मूर्तिकारमा छानिएर १० विदेशीसहित १५ नेपालीमध्येका एक मूर्तिकार हुन् बुद्ध चौधरी ।

बुद्ध चौधरीको नाम र भगवान् गौतमबुद्धको सामिप्यता चौधरीको जन्मदेखि नै भयो । लुम्बिनीमा जन्मेका चौधरी सानैदेखि मूर्तिकलामा पोख्त हुनुहुन्थ्यो । उहाँले शुरुदेखि नै गौतम बुद्ध र उहाँसँग सम्बन्धित अन्य मूर्ति निर्माण गर्दै आउनुभएको छ । उहाँ जहाँ जानुहुन्छ बुद्ध भगवानकै मूर्ति कुद्नुहुन्छ तर थोरै फरक शैलीमा केही कलात्मक मिश्रण गरेर ।

गलकोटको टेउवामा उहाँले सात फिट अग्लो ढुङ्गामा धर्म चक्रसहितको बुद्धको मूर्ति १५ दिनमा तयार पार्नुभएको छ । “मेरो नाम सानैमा बाबा आमाले बुद्ध राख्नुभएछ मेरो काम पनि बुद्धको मूर्ति कुद्ने नै हो”, चौधरीले भन्नुभयो, “यहाँको मूर्तिमा बुद्धको पछाडि धर्म चक्र बनाएको छु, धर्मचक्रले बुद्धका आठ उपदेशलाई मान्नु पर्दछ भन्ने सन्देश दिनेछ ।”

मैले धेरै देशमा मूर्तिकलासम्बन्धी कार्यशालामा सहभागी हुँदा बुद्धकै मूर्ति निर्माण गरेको भन्दै चौधरीले गलकोटको यो प्राकृतिले वरदान दिएको जस्तो स्थान टेउवा बुद्ध भगवान् ठडाउन पाउँदा खुशी लागेको छ । समाजमा शान्ति स्थापनाका लागि कलामार्फत सन्देश दिनका लागि गौतम बुद्धको मूर्ति निर्माण गर्दै आएको चौधरीको भनाइ छ ।

भोलि फागुन २१ गते समापन हुने कार्यशालामा चौधरी जस्तै १५ मूर्तिकारले कला, जल, जमिन, जङ्गल, प्राकृतिक छठा, वातावरण, घुम्टे पहाड, गणेश भगवान्लगायतका कलात्मक मूर्ति तयार पारिएको छ । खुला मूर्तिकला सङ्ग्रहालय स्थापनाका लागि अन्तर्राष्ट्रियस्तरको मूर्तिकला कार्यशाला आयोजना गरिएको आयोजक गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।

कार्यशालामा गणेश, बुद्ध र गलकोट पहाडबाहेकका अन्य मूर्ति निकै भावनात्मक रहेको मूर्तिकारले जनाएका छन् । मानिसको दृष्टिकोणअनुसार फरकफरक दृश्य देखिने गरी मूर्ति निर्माण भएका छन् । निर्माण भएका मूर्तिहरुमा पानीको महत्व, प्रकृतिको महत्व, सङ्घर्षको महत्व तथा सृष्टिको महत्व झल्काउने मूर्ति कैयौँ वर्ष पछाडिसम्म उत्तिकै महत्व झल्काउने खालको भएको मूर्तिकला कार्यशालाका संयोजक तथा मूर्तिकार ओम खत्रीले जानकारी दिनुभयो ।

विसं २०७३ मा स्थापना भएको गलकोट कला–प्रतिष्ठानले टेउवामा निर्माण थालिएको खुला सङ्ग्रहालय निर्माण स्थलमा भइरहेको मूर्तिकला कार्यशाला अवलोकनका लागि दैनिक एक हजारदेखि एक हजार ५०० आन्तरिक पर्यटक आउन थालेका हुन् । कार्यशालामा जापानबाट जुन इचिरो सुगीमोतो, चीनबाट लिउ याङ्, इटालीबाट बिटिनो फ्रान्सेनी, फ्रान्सबाट जिवियर्स गोँजालेज, ताइवाबाट लिन लि जेन, क्यानडाबाट जुली ग्ल्यास्पी, भारतबाट टुटु पटानायक, इजरायलबाट तान्या प्रिमिङ्गर, ब्राजिलबाट जर्ज लुइज र युक्रेनबाट मूर्तिकार ल्युड्मेलले कार्यशालामा डुङ्गालाई कुँदेर कलात्मक मूर्ति तयार पानुभएको हो । कार्यशालामा नेपालबाट मूर्तिकार चौधरीसहित, ओम खत्री, राजन काफ्ले र राजु पिथाकोटे सहभागी हुनुभएको छ ।

स्थानीयवासीले निर्माणाधीन खुला सङ्ग्रहालयका लागि २३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको कला प्रतिष्ठानका कोषाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो । खुला सङ्ग्रहालयको २०७४ सालमा रु १२ करोड बराबरको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार गरी काम थालिएको थियो । कोषाध्यक्ष श्रीसका अनुसार आगामी असारसम्म झण्डै रु.तीन करोड खर्च भइसक्ने गरी निर्माण भइरहेको छ । कार्यशालामा निर्माण गरिएको १७ भन्दाबढी ढुङ्गामा निर्माण भएका कलात्मक मूर्ति खुला सङ्ग्रहालयमा प्रतिस्थापन गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>