क्रिकेट
एसीसी इस्टर्न रिजनः मलेसियासंग नेपाल २२ रनले पराजित

काठमाडौं, फागुन १७–
एसीसी इस्र्टन रिजन टि–२० क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । बरियतामा नेपाल आफू भन्दा कम स्तरको टिम मलेसियासंग २२ रनले पराजित भएको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३२ रन जोड्न सक्यो ।
आज नेपालको सुरुवात निकै खराब रह्यो । एक रनको अवस्थामा नेपालले पहिलो विकेटको रुपमा युवा खेलाडी कुशल मल्ललाई गुमायो । पहिलोपटक ओपनिङ गर्न आएका कुशल खाता नखोल्दै आउट हुन पुगे । त्यसपछि दवाबमा आएको नेपाल २२ रनको अवस्थामा पारस खड्कालाई गुमायो । पूर्व कप्तान पारस ९ रन मात्रै बनाए । त्यसपछि नेपालको पारी ज्ञानेन्द्र र दीपेन्द्रले उकास्ने प्रयास गरे । नेपालले ८९ रनको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । ज्ञानेन्द्रले व्यक्तिगत ३८ रन बनाए । ११० रनको अवस्थामा भरपर्दा व्याट्सम्यान दीपेन्द्र सिंह ऐरी पनि ३८ रन बनाउँदै आउट भएपछि नेपालीको पारी धरासय बनेको हो । नेपालका अन्य व्याट्सम्यान चल्न सकेनन् । पवन सर्राफ १९, विनोद भण्डारी ७, आरिफ शेख ५, करन केसी २, सन्दीप लामिछानेले एक रन बनाए भने सुसन भारी खाता नखोल्दै आउट भए ।
मलेसियाका लागि सरभिन मुनिन्डेले ४ विकेट लिए भने पवनदिप, सेजरुल र खिजरले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । उसका लागि सायद अजिजले ५१ रनको अर्धशतकिय पारी खेले भने मोहद अनवारले ३१, अहमद फेजले ३०, अमिनुदिनले २९ रनको योगदान दिए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने अभिनास बोहराले २, करन केसीले एक विकेट लिए । एकदिवसीय खेलमा चम्केका सुसन भारीले भने ३ ओभरमा २६ रन दिएर कुनै विकेट लिन सकेनन् ।
आजको अप्रत्यासित हारसंगै एसिया कप छनौटका लागि नेपाललाई कठिन भएको छ । नेपालले बाँकी ३ वटै खेलमा शतप्रतिशत जित निकाल्नुपर्ने दवाब परेको छ । प्रतियोगिताको शीर्ष दुई टिम मात्रै एसिया कप छनौट खेल्न पाउने छ ।


























