चितवन विशेष

धूमपानरहित भरतपुर महानगरः आठ वर्षअघिको कानुन बल्ल कार्यान्वयनको चरणमा

Banner

चितवन, फागुन ७–

अनिल तिवारी नारायणगढको कमलनगरमा एक दशकदेखि रेष्टुरेण्ट सञ्चालन गर्दै आएका छन् । उनको रेष्टुरेण्टमा खाजा खान भन्दा पनि युवा युवती चुरोट सेवन गर्न आउँदछन् ।

“मेरो रेष्टुरेण्टमा खाजाका परिकारहरु पाक्छन् । तर, यहाँ खाजा भन्दा पनि चुरोट बढी जान्छ,” उनले भने, “दैनिक १ सय ५० खिल्ली चुरोट बिक्री हुन्छ ।” चुरोट नराख्ने हो भने ग्राहकहरु कम आउने उनी बताउँछन् । यसरी होटलमा सुर्तीजन्य पदार्थ बिक्रीका लागि छुट्टै अनुमति ल्याउनुपर्ने हुन्छ ।

तर, यहाँ जथाभावी रुपमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन हुँदै आएको पाइन्छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ बमोजिम सार्वजनिक स्थलमा कसैले धूमपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिलाई बेचविखन गर्न नपाउने, एक–एक खिल्ली बिक्री गर्न नपाइने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने व्यवस्था छ ।

कसैले पनि अन्य व्यक्तिलाई असर पर्नेगरी घर तथा निजी सवारी साधन भित्र धूमपान गर्न नपाइने, सार्वजनिक स्थलको आवश्यकताअनुसार विभिन्न ठाउँमा धूमपान तथा सुर्ती सेवन गर्न नपाउने व्यहोरोको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस गर्नुपर्नेछ । तर, यदि सम्बन्धित कार्यालयमा व्यवस्थापकले आफ्नो कार्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ सेवनको सूचना टाँस नगरी यसरी सुर्तीजन्य पदार्थ खाएको पाइएमा जिल्ला प्रशासन कार्यालयले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने ऐनमा उल्लेख गरिएको छ ।

सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट्स, पेटी तथा पार्सल, प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०७१ मा जारी गरेको खैरहनी नगरपालिकाकाका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बताए ।

सुर्तीजन्य पदार्थ कहाँ कहाँ बिक्री गर्न पाईदैन

सरकारी निकाय, संघसंस्था, शिक्षण संस्था, पुस्तकालय, स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक सवारीका साधन, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना, चलचित्र घर, साँस्कृतिक केन्द्र, नाट्यशाला, होटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, छात्रवास, रङ्गशाला, कबर्ड हल, पौडी पोखरी, मिनी मार्केट, डिपार्टमेन्ट स्टोर, धार्मिक स्थल तथा धर्मशाला, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टरमा समेत सुर्तीजन्य पदार्थ खान निषेध गरिएको छ । यसका साथै निजी घर तथा निजी सवारी साधनमा समेत अरू व्यक्तिलाई असर गर्ने गरी धूमपान गर्न पाइँदैन ।

नेपाल सरकारले आर्थिक ऐनद्वारा लगाएको धूमपान तथा सुर्तीजन्य पदार्थको अन्तःशुल्क करबाट उठेको कुल रकमको कम्तीमा २५ प्रतिशत रकम स्वास्थ्यकर कोषमा जम्मा गरिने भनिएको छ । त्यही कोषबाट सचेतनामूलक कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयले गर्ने गरेको थियो । तर, स्थानीय तह आएपछि धूमपन निषेध सम्बन्धि कार्यक्रम नगरेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी बताउँछन् ।

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ निषेधका लागि दुई वर्षअघि जिल्ला प्रशासन कार्यालयमा तीन हजार रसिद समेत बुझाएका थियौँ,” उनले भने, “कारबाही के कति भयो भन्ने हामीलाई थाहा छैन ।” नेपालमा कुल जनसङ्ख्याको ३५.५ प्रतिशत मानिसले धूमपान गर्ने गरेको उनले बताए । जसबाट नेपालमा ८३ लाख जनसङ्ख्याले धूमपान गर्ने गरेको उनले बताए । मुटुरोग, क्यान्सर, छालाका रोग, श्वास–प्रश्वास रोगलगायत अधिकांश रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थलाई लिइँदै आइरहेको छ ।

नेपालमा प्रत्येक दिन सुर्तीजन्य सेवनले गर्दा ४४ जनाले अनाहकमा ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य तथ्याङ्कमा उल्लेख छ । ढिलै भएपनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवनलाई हाउने तयारी गरेको भरतपुर महानगरपालिकी मेयर रेणु दाहालले बताउँछिन् । “हामीले सार्वजनिक स्थलमा धुम्रपान निषेध गर्नका लागि सूचना नै निकालेका छौँ” उनले भनिन्, “डिसेम्बर २०२० मा महानगरपालिकालाई देशकै पहिलो धुम्रपान निषेध सहर बनाउँछौँ ।” भरतपुर महानगरपालिकाले धुम्रपान निषेधका लागि एसिक्याट भन्ने संस्थासँग मिलेर काम गर्ने उनले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>