देश/प्रदेश
भान्सामा खाना पकाउँदै गर्दा उर्लियो बाढी, घरभित्रै बिलाए

काठमाडौँ, भदौ १७ –
गत भदौ १० गते बुधबार बिहान छोराछोरीलाई स्कुल पठाउने चटारो थियो महिलालाई ।
“भान्सामा खाना पकाउनै व्यस्त थिए, उनीहरू । भोटेकोशी बाढी उर्लिएर आएको मेसै पाएनछन् । अन्ततः उनीहरू घरभित्रैबाट बिलाए ।”
भोटेकोशी बाढीपीडित अवलोकनमा पुगेका महिला पुनस्र्थापना केन्द्र (ओरेक)का कार्यक्रम संयोजक सुलोचना खनालले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “कतिले त फोन उठाउन नै पनि पाएनछन् ।”
मङ्गबार बाढीपीडित क्षेत्रमा पुगेका महिलावादी संस्थाले नुवकोट, त्रिशूली, बेत्रावतीलगायतका स्थानमा पुगी होल्डिङ सेन्टरमा रहेका महिला र किशोरकिशोरीलाई आन्तरिक पहिरनका सामग्री उपलब्ध गराएका छन् ।
यतिखेर महिला पुनस्र्थापना केन्द्र (ओरेक)मात्र होइन, तरङ्गिनी फाउन्डेसन, लुम नेपाललगायतका संस्था पनि त्यहाँ पुगेका छन् ।
ओरेकका कार्यक्रम संयोजक सुलोचन खनालले बाढी पीडितका क्षेत्रमा महिला, बालबालिका र सुत्केरीको स्थिति जटिल रहेको बताउनुभयो ।
संयुक्त राष्ट्र महिला(युएन युमेन)ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार लगभग एक लाख ६० हजार महिला र बालबालिकालाई भोटेकोशी बाढीले प्रभावित गरेको उल्लेख छ ।
देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, नुवाकोटबाट प्राप्त विवरणअनुसार आश्रममा रहेका ३४ ज्येष्ठ नागरिकमध्ये २४ जनाको उद्धार गरिएको छ ।
हालसम्म पाँच जना बेपत्ता रहेको, एक जनाको मृत्यु भएको, घाइते स्वास्थ्य समस्या भएका ज्येष्ठ नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी, सात जनालाई आफन्तको जिम्मामा पठाइएको छ । १४ जना उद्धार गरिएका ज्येष्ठ नागरिकलाई नुवाकोटको आयुर्वेद भवनमा राखिएको छ । नुवाकोटमा अलपत्र परेका करिब ४० विद्यार्थीको उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको छ ।
अभिभावकबाट अलग भएका केटाकेटीको सुरक्षित संरक्षण, हेरचाह तथा उचित व्यवस्थापन गरिँदै आएको महिलामन्त्री सिता बादीले बताउनुभयो । रासस
























