Breaking News
चितवनमा पहिचान हुन नसकेका ३३५ वटा शव व्यवस्थापन गरियो

चितवन, भदौ १६–
रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको मंगलबार रातिसम्म व्यवस्थापन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषन यादवका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए संकलन गरेर शनिबारदेखि जंगलमा लगेर खाडलमुनी गाड्न थालिएको हो । प्रहरीले शनिबार ९६ वटा शवको व्यवस्थापन गरेको थियो । दोस्रो दिन आइतबार एक सय तीन, सोमबार ८१ र चौथो दिन मंगलबार ५५ वटा शव खाडल खनेर जमिनमुनी राखिएको छ । जमिनमुनी व्यवस्थापन गरिएका मध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका एक सय २९ वटा शव रहेका छन् । त्यस्तै पुरुष एक सय सात र महिला ७३, बालिका १५ र बालक ११ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले बताए । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । केही शव आफन्तले पहिचान गरेपनि गाडिसकेका कारण शवहरु लान पाएका छैनन । कति आफन्तले शव पहिचान गरेपनि लान नपाएको गुनासो गरेका छन् । अहिले चितवनमा आफन्तले डिएनएको लागि नमुना दिन थालेका छन् ।
नदी किनारमा शव फेला पर्ने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ । सोमबार मात्रै चितवनमा ४९ वटा शव फेला परेका छन् । अहिलेसम्म हालसम्म ३४८ वटा शव फेला परेका छन् । त्यसमध्ये पहिचान नखुलेका एक सय २९ छन् । भरतपुर अस्पतालमा एक जनाको शव रहेको छ । सनाखत हुनेमा ११ पुरुष र एक जना बालिका रहेका छन् ।






















