नवलपुर

हुप्सेकोटमा नयाँ प्रशासकीय अधिकृतलाई हाजिर गर्न अध्यक्षले दिइनन्

Banner

 नवलपुर,माघ २८-

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन रोक लगाएकी छन् । पाल्पाको तिनाल गाउँपालिकाबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरुलाई अध्यक्ष पाण्डेले हाजिर गर्न रोक लगाएकी हुन् । पनेरु माघ २६ गते हाजिर हुन गाउँपालिका कार्यालय आएका थिए । अध्यक्ष पाण्डेले हाजिरी रजिष्टरसमेत लुकाएको अर्का एक कर्मचारीले बताए ।

गाउँपालिका अध्यक्ष पाण्डेले हाजिर हुन नदिएपछि पनेरु कार्यालय परिसरमा नै दिन काट्दै आएका छन् । ‘म माघ २६ गते नै पत्र लिएर हाजिर हुन आएँ, तर अध्यक्ष ज्यूले हाजिर नगर्न भन्नुभयो, कारण सोध्दा बताउनु भएन, उठेर हिँड्नुभयो,’ प्रमुख प्रशासकीय अधिकृत पनेरुले भने, ‘हाजिर गर्न नदिएको जानकारी मन्त्रालयमा गराइसकेको छु, म केन्द्रिय सरकारको प्रतिनिधि हुँ किन हाजिर गर्न दिनुभएन उहाँलाई सोध्नुस् ।’ उनले मन्त्रालयले अर्को पत्र नदिएसम्म दिनहुँ कार्यालयमा आउने बताए ।

आफूले यसअघिका प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई सरुवा नगर्न अनुरोध गर्दा पनि सरुवा गरिएकोले पनेरुलाई हाजिर हुन नदिएको अध्यक्ष पाण्डेको भनाइ छ । ‘मैले मन्त्रालयमा पनि गएर कुरा गरें, अहिले सरुवा नगरिदिनुस् भनें, तर मान्नुभएन, उहाँको सरुवा मन्त्रालयमा नै भयो, उहाँको घरासयी समस्या पनि छ,’ अध्यक्ष पाण्डेले भनिन, ‘न्यौपाने जी यहाँको स्थानीय पनि हुनुहुन्छ, किन सरुवा गर्ने ?’ उनले प्रशासकीय अधिकृतहरुको सरुवा छिटो छिटो हुँदा गाउँपालिकालाई काम गर्न समस्या भएको बताइन् ।

यसअघि, सरुवा भएर आएका प्रमुख प्रशाकीय अधिकृत होमनाथ काफ्लेलाई समेत अध्यक्ष पाण्डेले हाजिर नगराएपछि उनी कावासोती नगरपालिकामा हाजिर भएर दुई बर्ष काम गरेका थिए ।

विवादमा तानिदै अध्यक्ष पाण्डे

गत माघ ७ गते अधिकृत स्तरका कर्मचारी शिव सुवेदीले कार्यालयको गाडी चलाउँदा स्थानीय बालक दीपसन गाहाको मुत्यु भएको घटनामा दोषीलाई बचाउन पाण्डेले भूमिका खेलेको आरोप लागेको छ । कर्मचारी सुवेदीलाई कारबाही गर्ने ठाउँमा लुकाइएको स्थानीयले बताएका छन् । मृतक बालककी आमा मिना गाहाले दोषीलाई कानुनी दायरामा नल्याउँदासम्म शव नबुझ्ने अडान गरे पनि आफ्नो इच्छा विपरीत अन्त्यष्टि गरेको भन्दै प्रहरी समक्ष उजुरी गरेकी छन् । आरोपितलाई कारबाही र शव जलाउने कारण खोज्दै उनले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

आरोपित कर्मचारी लुकाउने र बालकको मृत्युबाट छटपटिएकी आमालाई सान्त्वना दिने भन्दा पीडा दिने काम अध्यक्ष पाण्डेबाट भएको स्थानीय मेघबहादुर पुलामीले बताए । उनले नियम मिचेर शिक्षा शाखामा श्रीमान लालचन्द्र लामिछानेलाई नियुक्त गरेको आरोपसमेत लागेको छ । पाण्डेको कार्यशैलीप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समेत आपत्ति जनाउँदै आएको छ ।

बजेट योजना निर्माण प्रक्रियामा नेकपालाई बेवास्ता गरेर एकलौटी गरेको गुनासो नेकपा हुप्सेकोट गाउँपालिका कमिटीका अध्यक्ष समर रानाले गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>