अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा ३० वर्षयताकै ठूलो वर्षा, डढेलो निभ्यो

Banner

काठमाडौँ माघ २७-

अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको छ तथा जनजीवन प्रभावित भएको छ।

हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्।

सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। सो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ।

डढेलो निभ्दै

केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ।

विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ। उक्त डढेलोले ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरिदिएको थियो।

मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ।

भीषण वर्षाका कारण वर्षौँदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा भरथेग भएको छ।

सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ। गत सातामात्र त्यहाँ जम्मा ४२ प्रतिशत पानी भरिएको थियो।

चेतावनी

अस्ट्रेलियाको सबभन्दा धेरै जनसङ्ख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ।

सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन्।

सोमवार बिहान त्यहाँको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ।

सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्। दर्जनौँ स्कूल बन्द रहेका छन्।

सहरका तल्ला भूभागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति तम्तयार रहन भनिएको छ।

सेन्ट्रल सिड्नीमा सोमवार पानी रोकिएको छ तर यो साताभरि थप वर्षाको पूर्वानुमान गरिएको छ।बिबिसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>