देश/प्रदेश

बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई तुरुन्त पक्राउ गर : भण्डारी

Banner

काठमाडौं, माघ २३-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले बालुवाटारको सरकारी जग्गा प्रकरणमा झण्डा र रसिदको आधारमा कसैले उन्मुक्ति पाउन नहुने स्पष्ट पारेका छन् ।

रिपोटर्स क्लबमा आज भएको साक्षात्कारमा उनले भने,‘कानूनको नजरमा सबै समान हुनुप¥यो । नेपालमा अहिले पोलिसी, पोलिटिकल र डेभलेपमेन्टमा भ्रष्टाचार छ । जबसम्म राजनीतिक भ्रष्टाचार नियन्त्रण हुँदैन् । तबसम्म अरु भ्रष्टार रोकिँदैन् ।’ तत्कालिन मन्त्रीमण्डलबाट निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईतर्फ संकेत गर्दै उनले भने,‘विजय गच्छदारलाई कारबाही हुँदा त्यहाँ सँगै बसेकाहरुलाई पनि कारबाही हुनुप¥यो नि । निर्णय गर्ने फस्ट मेनलाई छुँदै नछुने, दाजुसित सक्दैन अनि भाउजुसँग कुँईकुँई गरेर न्याय हुन्छ ? पहिला ठूलो मान्छे समाउ न ।’

उनले पाकिस्ताका प्रधानमन्त्री ईमरान खनाले केही दिनअघिमात्रै पत्रकार सम्मेलन गरेर देशमा भएको ठूला–ठूला भ्रष्टाचारको बारेमा बोलेको सुनाए । उनले भने,‘भ्रष्टाचारले आक्रान्त बनाएपछि देशले कहिल्यैपनि विकास गर्दैन् । हाम्रो देश विश्वकै सबैभन्दा राम्रो देश हो, प्राकृतिक रुपमा पनि हामी धनी छौं । नेपाल शिक्षा र मेडिकलमा पनि हब हो । योगमाया र वीर गोरखालीको देश हो ।’ उनले नेपालमा नेताहरु नेताको अर्थ नै नुबझिकन राजनीतिमा लागेको पनि तर्क गरे ।

‘नेताहरु दरबार बनाउन लागे, आफू र आफ्नालाई कसरी सम्पन्न बनाउने भन्नेमै यस्तो देखियो ।’–उनले भने,‘हाम्रा देशका प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु भनेको माग्ने देशका ठूला नेताको रुपमा परिचित छन् ।’ नेपाल विकास नहुनु भनेको बाधक नै भ्रष्टाचार भएको उनको टिप्पणी छ । नेपालमा ठूलाहरु बच्ने र सानाहरु मर्ने अवस्था रहेको दुरावस्था पनि भण्डारीले सेयर गरे ।

कार्यक्रममा राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले जीवनभर एउटामात्र कोट लगाउने पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु हाँस्यास्पद भएको बताएका छन् । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको कदममा राजनीतिकरण देखिएको भन्दै निर्दोषहरुलाई समेत फसाइएको बताएका हुन् । उनले गीतकार समेत रहेका पूर्वसचिव दिनेशहरि अधिकारीमाथिको आरोपको समेत आलोचना गरे । उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा राजनीतिकरण प्रष्ट छ तर बालुवाटारको जग्गा जोगाउनुपर्छ ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले वर्तमान सरकार आएपछि ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार काण्ड बाहिर ल्याएको स्पष्ट पारे । उनले भने,‘यो सरकार आएपछि म भ्रष्टाचार गर्दिन् र हुन दिन्न भनिएको छ, यो प्रकरणले गर्दा भ्रष्टाचारीमाथि आज एउटा प्रक्रिया सुरु भएको छ ।’

नेपाल सरकारका पूर्वसचिव तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषीहरुमाथि विशेष अदालतमा मुद्दा दायर गरेकोमा खुसी व्यक्त गरेका छन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले बालुवाटारको सरकारी जग्गा प्रकरणमा अख्तियारले यो प्रकरणमा संलग्नहरुमाथि मुद्दा दायर गरेर राम्रो काम गरेको टिप्पणी गरे । उनले यो प्रकरणलाई नेपालको इतिहासमै ठूलो भ्रष्टाचार काण्डको संज्ञा दिए । उनले भने,‘नेपालमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व नैतिक रुपमै भ्रष्टाचारको जालोमा मुछिएका छन् भन्ने कुरा यो प्रकरणले छर्लङ पारेको छ ।’

उनले मन्त्रिपरिषद्ले बदनियतपूर्ण निर्णय गरेको वा भ्रष्टाचार गरेको विषयमा छानबिनको विषय हुने उनले सुनाए । उनले भने,‘त्यतिबेलाको मन्त्रिपरिषद्ले राज्यको जग्गा व्यक्तिलाई दिने निर्णय गर्नु नीतिगत निर्णय थिएन, यो त कार्यकारी निर्णय थियो ।’ उनले भारत र दक्षिण कोरियामा शक्तिशाली तत्कालिन राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत मुद्दा चलाईएको र कोरियाका राष्ट्रपतलिाई त जेल हालिएको घट्ना स्मरण गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>