देश/प्रदेश

राजनीति छाडेर च्याउखेती

Banner

सुरेन्द्र भण्डारी

सुरुङ्गा, २३ माघ
विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गर्नुभएका विर्तामोड नगरपालिका–४ का भक्तिप्रसाद तिवारीले २०६५ सालसम्म राष्ट्रिय जनमोर्चा पार्टीमा रहेर सक्रिय राजनीति गरे । सिङ्गो जीवन नै राजनीतिमा व्यथित गर्ने सोच बोकेर अघि बढ्नुभएका तिवारी राजनीतिक परिर्वतनसँगै २०६५ सालबाट राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गर्दै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीमा प्रवेश गरे । माओवादी पार्टीमा समेत सक्रिय राजनीति गर्नुभएका उनले २०७० सालको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोर्दा छाएको निराशाले उनलाई उद्यमी बनायो । राजनीतिले घर व्यवहार नचल्ने रहेछ भन्दै २०७१ सालदेखि च्याउखेती शुरु गर्नुभएका तिवारीले अहिले एक बिघा क्षेत्रफलमा व्यावसायिक च्याउखेती गरेका छन् ।

कृषि विकास बैंकबाट व्यावसायिक च्याउखेतीका लागि रु ५० लाख ऋण लिएर २०७३ सालदेखि एक बिघा जमीन ‘लिज’मा लिँदै च्याउखेती गर्दै आउनुभएका तिवारीले अहिले २५ हजार सिलिन्डर च्याउ रोप्नुभएको छ । प्रतिसिलिन्डर डेढ केजीसम्म उत्पादन हुने च्याउ उनले प्रतिवर्ष झन्डै ३२ हजार केजी उत्पादन गर्छन् । छ जनालाई प्रत्यक्ष र मौसमी कामदारका रूपमा १०÷१२ जनालाई रोजगारी दिएर पनि अहिले च्याउखेतीबाटै वार्षिक रु ४१ लाख जति आम्दानी गर्ने गरेको तिवारीले बताए ।

गत वर्ष पनि यही लक्ष्यका साथ काम गर्दा सफल भएको उनले सुनाए । “व्यावसायिक खेती गर्दा लक्ष्य हुन्छ, यो वर्ष २५ हजार सिलिन्डर च्याउ रोपेको छु, प्रतिसिलिन्डर १।२५ प्रतिकेजी च्याउ उत्पादन हुन्छ । त्यसो गर्दा २५ हजार सिलिन्डरमा ३१ हजार २५० केजी च्याउ उत्पादन हुन्छ”, तिवारीले भने, “उत्पादित च्याउ रु १३० प्रतिकेजी घरबाटै बिक्री गर्छु । एक बिघामा लगाएको च्याउले यो वर्ष रु ४० लाखभन्दा बढी आम्दानी गर्छु ।”

एक हजार सिलिन्डर च्याउ उत्पादन गर्न रु ७० देखि ८० हजारसम्म लागत लाग्ने बताउँदै तिवारीले भने, “प्राविधिक ज्ञान छैन भने च्याउखेती गर्दा कृषकले घाटा व्यहोर्नु पर्छ । एउटा मात्रै भुसुनो च्याउ रोपेको सिलिन्डरमा प्रवेश ग¥यो भने त्यहाँ लाखौँ भुसुना उत्पादन गर्दै सबै सिलिन्डरलाई नष्ट गरिदिन्छ, त्यसैले च्याउखेतीका लागि प्राविधिक ज्ञान अनिवार्य छ ।” आफूले च्याउखेती शुरु गर्दाको अवस्था सम्झँदै तिवारीले भने, “अहिले त मलाई च्याउ खेतीले राम्रो आम्दानी दिएको छ । नहुँदा पनि खर्च कटाएर आम्दानीको आधाभन्दा बढी रुपैयाँ बचत हुन्छ । तर शुरुको वर्ष प्राविधिक ज्ञान नहुँदा २०७१ सालमा एक हजार ६०० सिलिन्डर च्याउ बिग्रियो, जतिबेला मलाई निक्कै ठूलो घाटा लागेको थियो ।”

च्याउखेतीबाटै सोचेभन्दा राम्रो आम्दानी लिन शुरु गरेपछि उनले झापा विद्रोहका योद्धा टङ्कप्रसाद चौधरीका लागि जमीनसमेत खरिद गरिदिनुभएको छ । विसं २०२८ को किसान विद्रोहका क्रममा पक्राउ पर्नुभएका चौधरीले नौ वर्ष तीन महिनासम्म झापा कारागारमा कठोर जीवन व्यतित गरे । “किसान आन्दोलनका अगुवा चौधरी जीवनको उत्तरार्ध ७० वर्षको उमेरमा आफ्नो घर नभएर अरूकामा आश्रय लिएर बसेको थाहा पाएँ, मन थाम्न सकिनँ”, तिवारीले भने, “हिजो म पनि राजनीतिकर्मी थिएँ, उनि पनि राजनीति गरेकै कारण जेल परे । अहिले सहाराविहीन भएको सुन्दा आफैँलाई जोडेको जमीनको आधा भाग साढे पाँच धुर जमीन उनका नाममा पास गरिदिएँ ।” चौधरीलाई प्रदान गरेको जमीनको मूल्य अहिले झण्डै रु १५ लाख हुन आउँछ ।

तिवारीले निःशुल्क प्रदान गरेको जमीनमा विर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिन लागेको नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले बताए । च्याउखेती शुरु गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विर्तामोड नगरपालिकाबाट दुई चरण गर्दै रु आठ लाख १२ हजार ४८० अनुदान रकम प्राप्त गरेका तिवारीले यो वर्ष भने नगरपालिकाले प्रदान गरेको अनुदान रकम लिएनन् ।

आफू अहिले च्याउखेतीका लागि सक्षम व्यवसायी भएको बताउँदै तिवारीले भने, “मलाई दिने अनुदानको रकम नगरपालिकाले अरू विपन्न समुदायका नागरिकलाई लगानी गर्दै सीप सिकाएर प्रोत्साहनस्वरुप व्यवसाय गर्न सहयोग गरोस् भन्दै अनुदान रकम मैले लिइनँ ।”

विर्तामोड नगरकै सफल उद्यमीका रूपमा नगरपालिकाले यस वर्ष पनि उनलाई प्रोत्साहनस्वरूप अनुदान रकम प्रदान गर्न लागेको थियो तर तिवारी आफैँले विपन्न समुदायको जीवनस्तर माथि उठाउन आएको अनुदान रकम दुरुपयोग नहोस् भन्दै अनुदान नलिएपछि सफल उद्यमीका रूपमा चिनिनुभएका तिवारीको चर्चा झनै चुलिएको छ ।

तिवारीले रमेश थापा मगरको एक बिघा जग्गा वार्षिक रु तीस हजारमा लिजमा लिएर च्याउखेती गरी मनग्य आम्दानी गर्न थालेपछि उनि कहाँ अहिले च्याउखेती सिक्न आउनेको कमी छैन । उनले आफैँले पनि अरूलाई च्याउखेतीका लागि प्रोत्साहन गर्दै आउनुभएको छ । अहिले विर्तामोड नगरपालिकामा झण्डै आठ–दशजनाले व्यावसायिकरूपमा च्याउखेती शुरु गरेका छन् ।

“च्याउको मुख्य बजार विर्तामोड रहे पनि आफूले उत्पादन गरेको च्याउले मात्रै बजार धान्न नसक्ने भएपछि विर्तामोडसहित पूर्वका बजारमा भारतीय च्याउ आयात हुन्छ । “भारतीय च्याउ विस्थापित गर्न हामीले आफ्नै ठाउँमा च्याउखेती विस्तार गर्दै विदेशिने रुपैयाँ जोगाएर यहीँ हामी स्वरोजगार बन्न सक्नुपर्छ”, तिवारीले भने, “च्याउखेतीका लागि कोही पनि युवा उत्सुक छन् भने आउनुहोस् आफूले सिकेको सीप तपाईंहरुलाई पनि सिकाइ दिन्छु ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>