देश/प्रदेश
अब सबै जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा

चितवन, माघ२२-
हुम्लाको सदरमुकाम सिमकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ ।
गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार मङ्गलबारको सफलतासँगै देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक बनेको छ ।
गएको मङ्सिरसम्ममा ग्राहकको सङ्ख्या दुई करोड ३९ लाख २४ हजार नाघेको टेलिकमले जनाएको छ ।
टेलिकमले गत वर्ष कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्क (¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल (सीसीएसआई) हङ्कङसँग सम्झौता गरेको थियो । दुवै कम्पनीसँग एक वर्षभित्रै देशभर चौथो पुस्ताको फोरजी सेवा विस्तार गर्ने सम्झौता थियो ।
फोरजी परियोजनाअन्तर्गत कम्पनीले चार हजार दुई सय टावरमा फोरजी प्रविधि जडान र थप ६४० नयाँ टावर स्थापना गर्ने लक्ष्य राखेको छ ।
जीएसएम मोबाइलका दुई करोड १४ लाख ५४ हजार, सीडीएमए सेवाका १७ लाख ९४ हजार र पीएसटीएन सेवाका ६ लाख ७६ हजार ग्राहक रहेका टेलिकमको दाबी छ ।
























