गण्डकी

गाउँमा एम्बुलेन्स चलाउन लमजुङको विचौरमा महायज्ञ

Banner

चितवन, माघ २१-

चितवन र नवलपुरमा रहेर सक्रिय युवाहरुको संस्था दूधपोखरी सम्पर्क समाजले गाउँमा एम्बुलेन्स सञ्चालनको लागि लमजुङ जिल्लाको विकट दूधपोखरी गाउँपालिका–२ विचौरमा महायज्ञ सञ्चालन गरेका छन् ।

माघ १४ गतेबाट सुरु भएको सो महायज्ञ भोलि बुधबार समापन हुँदै छ । कथाशिरोमणि पण्डित दिपकप्रसाद पौडेलले कथावाचन गरेको महायज्ञमा यो समाचार तयार पार्दासम्म झण्डै ३० लाख रुपैयाँ संकलन भएको छ । महायज्ञको पूर्वमन्त्री शंकर भण्डारी र लमजुङकी प्रदेश सांसद मधुमाया अधिकारीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । सम्पर्क समाजले २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा यज्ञमा लक्ष्यभन्दा धेरै संकलन भएको दूधपोखरी सम्पर्क समाजका अध्यक्ष होमनाथ न्यौपानेले जानकारी दिए । उनले अब यज्ञ सकिनासाथ एम्बुलेन्स सञ्चालनको विधान बनाएर खरिद प्रक्रिया अगाडि बढाउने नारायणी अनलाइनलाई जानकारी दिए ।

सो महायज्ञ विचौर उपत्यकाकै पहिलो महायज्ञ भएकोले पनि अपेक्षाभन्दा धेरै सहयोग जुटेको सम्पर्क समाजका सचिव मधुसूदन दवाडीले बताए । उनले भने, ‘ भूकम्प र देशको १० वर्षे द्वन्द्वले झण्डै ५० प्रतिशत जनसंख्या बसाइसराइँ गरिसकेको समयमा सो रकम उठ्नु ठूलो कुरा हो ।’ महायज्ञमा काठमाडौँ, चितवन, नवलपुर, पोखरादेखि भक्तजनहरु आफ्नो जन्मभूमि सम्झेर पुगेका छन् भने देश तथा विदेशबाट सहयोग रकम संकलन भइरहेको छ ।

भोलि गण्डकी प्रदेशसभाका सांसद धनञ्जय दवाडीले महायज्ञको समापन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी महायज्ञ समापनको लागि देवघाट क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक भरत दवाडी, चितवनका अग्रज शैक्षिक अभियन्ता तथा सम्पर्क समाजका सल्लाहकार बाबुराम दवाडी, पूर्वसीडीओ हिमनाथ दवाडी, दूधपोखरी सेवा समाज काठमाडौँका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु यज्ञस्थलमा पुगेका छन् ।

गाउँमा पहिलो पटक महायज्ञ भएकोले पनि स्थानीयहरु निकै उत्साहित भएका छन् । दूधपोखरी गाउँपालिका–२ विचौरका ८४ वर्षीय वृद्ध अम्बिकाप्रसाद न्यौपानेले यसप्रकारको यज्ञ अहिलेसम्म गाउँमा हेर्न नपाएको विचार राखे । समाज सेवासँगै धर्म र ज्ञानका कुराहरु पनि जानकारी लिन सकिने भएकोले यज्ञ महत्वपूर्ण भएको उनले नारायणी अनलाइनलाई बताए । स्थानीय महिला समूह, आमा समूहले यज्ञस्थलमा भोजन तथा खानाको व्यवस्था गरिरहेका छन् । महायज्ञको संरक्षकमा दूधपोखरी वडा नम्बर २ रहेको छ । द्वन्द्व र भूकम्पले रित्तिएको विचौर उपत्यकामा यसपटकको महायज्ञले नयाँ आशा र उर्जा थपेको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>