राजनीति
हाम्रो समर्थन चाहिएको हो भने संविधान संशोधन गर : राजपा

काठमाडौं, १४ माघ-
राष्ट्रियसभा निर्वाचनका क्रममा सत्तँरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्य गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तत्कालै सरकारमा सहभागी नहुने बताएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक एवं सांसद महेन्द्रराय यादवले आफूहरुको माग र मुद्दा सम्बोधन भएमात्र सरकारलाई समर्थन गर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकका बोल्दै राजपा संसदीय दलका नेता महेन्द्र राय यादवले आफूहरुलाई सरकारमा जान कुनै हतारो नभएको बताएका हुन् ।
नेता यादवले राजपाले तत्कालै सरकारलाई समर्थन गर्ने अवस्था समेत नभएको बताए ।
‘मधेशी जनतासँग सरकारले गरेको बाचा पूरा गर्नुपर्छ । सरकारकाले संविधान संसोधन गरोस्, २५ जना हाम्रा नेताहरु जेलमा छन् । राजपा मुद्धाका लागि गठन भएको पार्टी हो, सरकारमा जान हैन,’ नेता यादवले भने, ‘रेशम चौधरीलगायत अन्य नेता कार्यकर्ता पनि जेलबाट निकालियोस् । मुद्दालाई सम्बोधन गर्नुस्, हामी सरकारले चाहेका बेलामा फेरि पनि समर्थन गर्न सक्छौं । हामी त्यसका लागि तयार छौं । तर राजपा सरकारमा जाने सम्भावना छैन, मधेशी दललाई पालैपालो सरकारमा ल्याउने सरकारको चाहना हामीले बुझेका छौं । राजपा सरकारमा गए जनतालाई धोका हुन्छ ।’
उनले भने, हामीले सरकारलाई सबै अप्ठ्यारोमा सहयोग गर्न तयार छौ तर त्यसअघि हाम्रो मागहरु पुरा हुनुपर्छ ।’ विगतमा एमालेका कारण संविधान संशोधन नभएको बताउँदै उनले अहिले एमाले र माओवादी केन्द्र एउटै पार्टी भएको र त्यसबाट संशोधन हुने अपेक्षा आफूले लिएको बताए ।
आफूहरुले पनि एक वर्षसम्म सरकारलाई समर्थन दिएको तर रेशम चौधरीको रिहा तथा संविधान संशोधन नगरेको कारण आफूहरुले समर्थन फिर्ता लिएको बताउँदै उनले अहिले पनि माग पुरा गर्यो भने समर्थन गर्न तयार रहेको धारणा राखे ।
समाजवादी पार्टीले दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी भएको तर १८ महिना वित्दा समेत सरकारले कुनै वास्ता नगरेको गुनासो गरे ।


























