चितवन विशेष
चिकित्सक संघको निर्वाचनमा चितवनमा आज र भोलि मतदान

चितवन, माघ ४ –
चिकित्सक संघको नयाँ कार्यसमितिका लागि चितवनमा आज मतदान भएको छ । मतदान भोलिसम्म जारी रहने छ ।
बिहान ११ बजेदेखि भरतपुर अस्पतालमा सुरु भएको मतदान ४ बजेसम्म चलेको थियो । चितवनसहित उपत्यका बाहिरका १६ वटा शाखा कार्यालयमा मतदान भइरहेको चिकित्सक संघ चितवनका सचिव डा भोजराज अधिकारीले नारायणी अनलाइनलाई बताए । उनले चितवनमा जम्मा ४२५ जना मतदाता रहेकोमा आज १८५ भोट खसेको र भोलि आइतबार बाँकी चिकित्सकहरुले समय मिलाएर मतदान गर्ने बताए ।
यसपटक संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन् । २८ औँ नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक समूहबाट डा लोचन कार्की र समावेशी पेशागत समूहबाट डा पुष्पमणि खराल अध्यक्षको प्रतिस्पर्धामा छन् । चितवनबाट लोकतान्त्रिक समूहमा डा अनिलविक्रम कार्की उपाध्यक्षमा प्रतिस्पर्धामा रहेका छन् । थप पाँच हजार नयाँ सदस्य थपिएकोले पनि यसपटकको निर्वाचन कसले जित्छ यसै भन्न नसकिने अवस्था रहेको डा अधिकारीले बताए ।

























