चितवन विशेष
चितवनमा वर्षाका कारण रत्ननगर महोत्सव प्रभावित, दुई दिन समय थप

चितवन, माघ ४-
चितवनको रत्ननगरमा जारी १० औं रत्ननगर महोत्सवको समय अवधि दुई दिन बढाइएको छ ।
वर्षाका कारण हिजो शुक्रबार महोत्सव प्रभावित भएपछि समयावधि बढाइएको हो । गत पुस २५ बाट सुरु भएर माघ ७ गते सम्मलाई तोकिएको महोत्सवको अबधि माघ ८ र ९ गतेका लागि थपिएको महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । दर्शक र प्रदर्शकको आग्रहमा महोत्सवको समयावधि थपिएको अध्यक्ष रेग्मीले जानकारी दिए । महोत्सवमा दर्शकको अत्याधिक चाप छ । दैनिक ४० देखि ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्दै आएका छन् । रत्ननगर महोत्सव अवलोकन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै छ संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले भने दर्शक र प्रदर्शकको चाहना बमोजिम अवधि बढाएका हौं ।
त्यसैगरी रत्ननगर नगरपालिका–१ सौराहाचोकमा जारी चिकेन एण्ड एग फुड फेष्टिबलको समयावधि पनि बढाइएको छ । पुस २९ गतेबाट माघ ४ गते सम्म तोकिएको फेष्टिबलको अवधि माघ ५ र ६ गते दुई दिन बढाइएको फेष्टिबलका संयोजक ज्ञानबहादुर विसुरालले बताए ।
महोत्सवमा जीप लाइन, जंगल सफारी, सेल्फी डाँडासहित ५२१ व्यवसायिक स्टल तथा बालउद्यान रहेको संघका महासचिव निराजन खनालले जानकारी दिए । महोत्सवको अवसर पारेर जनप्रतिनिधि र महोत्सवको स्टेरिङ कमिटीबीच डोरी तानातान र पूर्वी चितवन स्तरीय व्याडमिन्टन प्रतियोगिता तथा पत्रकार र महोत्सवको स्टेरिङ कमिटी बीच कबडी प्रतियोगिता माघ ६ गते आयोजना गरिएको खेलकुद व्यवस्थापन समितिका संयोजक दिनेश कट्टेलले जानकारी दिए ।

























