चितवन विशेष
रत्ननगर महोत्सव : माघको चिसो र झरीमा पनि दर्शकको भीड

चितवन, माघ २-
रत्ननगर महोत्सव अन्तर्गत आज जगतकृष्ण प्रजापति स्मृति कला प्रतिष्ठानद्वारा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगिता सकिएको छ ।
प्रतियोगितामा पूर्वीचितवनका १५ वटा विद्यालय सहभागी थिए । प्रतियोगिता सकिएको भए पनि नजिता भने प्रकाशन नगरिएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । सो प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण माघ ७ गते महोत्सव समापनका दिन गरिने श्रेष्ठले जानकारी दिए ।
दशौँ रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज बिहीबार महोत्सवमा इमेल लोक स्टार राम नेपाली, ऋतु कँडेल रत्ननगर कला मन्दिरको विशेष प्रस्तुतिका साथै निर्मली र प्याकुलीको हास्य प्रहसन रहेको श्रेष्ठले बताए । पुस २५ गतेदेखि सञ्चालन भएको १० औँ रत्ननगर महोत्सवमा आज बिहीबार झरी परेको भए पनि दर्शकको राम्रै उपस्थिति रहेको महोत्सव मूल समिति संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए ।
बिहानैदेखि पानी परिरहेको भए पनि महोत्सव अवलोकनका लागि दर्शकहरु उल्लेख्य रुपमा महोत्सव स्थल प्रवेश गरेका रेग्मीले जानकारी दिए । समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिने रेग्मीको भनाइ छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पु¥याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधिसमेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिए ।
सो महोत्सव अन्तर्गत राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवको सेल्फी डाँडामा दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, चितुवा र जरायोको मूर्ति रहेको खनालले बताए । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ बिजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर राखिएको छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि सीसीटीभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बिमासमेत गरिएको आयोजकको भनाइ छ ।
स्वदेशी तथा विदेशी गरी महोत्सवमा ५२१ वटा स्टल रहेका छन् भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको मूल संयोजक रेग्मीले बताए ।

























