अर्थ
उवासंघ चितवनमा अध्यक्ष श्रेष्ठको शपथ, तीन महिनामा व्यवसायीको समस्या समाधानको प्रतिबद्धता

चितवन, माघ १-
उद्योग वाणिज्य संघ चितवनको ५३ औं साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले आज पद तथा गोपनियताको शपथग्रहण गरेको छ ।
उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठसहितको कार्यसमितिले आज पद तथा गोपनियताको शपथ लिएको हो । संघका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई तल राखिएको कुर्चीबाट डो¥याएर माथि ड्यासमा बसालेर शपथ ग्रहण गराएका थिए । सोही अवसरमा अध्यक्ष प्रधानले माला, अविर तथा ब्याचपनि लगाइदिए ।
त्यसैगरी नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गराए । सोही अवसरमा वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, वाणिज्यतर्फका सुमनकुमार श्रेष्ठ, कर्पाेरेट वस्तुगत तथा क्षेत्रीयतर्फ उपाध्यक्ष भोजराज कौडेल, उद्योगतर्फ उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतले पनि शपथ लिएका थिए ।
तीन महिनामा नै व्यवसायीका समस्या समाधान : श्रेष्ठ

उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्षको रुपमा आज शपथ ग्रहण गरेपछि मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले चितवनका व्यवसायीहरुले भोगेका समस्या तीन महिनामा समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले भने, ‘हरेक व्यवसायीको दैलो दैलो गएर मैले समस्या बुझेको छु । व्यवसायीको मलिन अनुहारहरु हेरेको छु । उनीहरुका समस्याहरुबारे म जानकार छु । तीन महिनामा उनीहरुका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ उनले आफूमाथि धेरै चुनौतीहरु रहे पनि उद्योग वाणिज्य संघको गरिमा र छविलाई डगमगाउन नदिने बताए । उनले भने, ‘निर्वाचित कार्यसमितिमा सबैको विचार फरक फरक भए पनि उद्योग वाणिज्य संघको गेटभित्र पसेपछि कुनै राजनीतिक रंग लिएर आउन पाइने छैन ।’ अध्यक्ष श्रेष्ठले कार्यक्रममा निवर्तमान अध्यक्ष र कार्यसमितिका अधुरा कामहरु पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । सोही अवसरमा उनले नारायणगढ बजारको व्यवस्थापनदेखि नारायणी नदीको व्यवस्थापनसम्मका योजनाहरु पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै निवर्तमान अध्यक्ष सहनलाल प्रधानले उद्योग वाणिज्य संघका आफ्नो दुई वर्षे कार्यकाल अविस्मरणीय बनेको बताए । उनले निर्वाचनको समयमा आफूले व्यवसायीको माझमा राखेका कतिपय प्रतिबद्धताहरु पूरा गरेको र केही अधुरा कामहरु नयाँ कार्यसमितिले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । नारायणगढ बजारको फुटपाथको समस्या, व्यवसाय नविकरण करबाट ५ प्रतिशत रकम प्राप्त गर्ने, उद्योग वाणिज्य व्यवसाय राहत कोष निर्माण, गौतमबुद्ध क्रिकेट रंगशालालाई ५५ लाख रुपैयाँ सहयोग जस्ता उल्लेखनिय कार्य गर्न सफल भएको उनले बताए । त्यसैगरी उनले कोशेली घरको स्थापना, फिटनेस सेन्टरको स्थापना जस्ता कार्य पनि गर्न सफल भएको जानकारी दिए ।
त्यस्तै शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडीले विजय हुन सजिलो भए पनि विजयी भएपछिको सबै कार्यसमितिका सदस्यहरुको संघको काममा क्रियाशिलता महत्वपूर्ण हुने विचार राखे । उनले भने, ‘उद्योग वाणिज्य संघ राजनीतिक गर्ने ठाउँ होइन । यसको शाख र मर्यादा जोगाउन नयाँ कार्यसमितिका सदस्यहरुको महत्वपूर्ण भूमिका हुनुपर्छ ।’ उनले उद्योग वाणिज्य संघ व्यवसायीको क्षमता पर्दशन गर्दे व्यक्तित्व विकास गर्ने ठाउँ भएको विचार राखे ।

कार्यक्रममा पूर्वअध्यक्ष राजन गौतम र रमेशकुमार पियाले अहिलेको नयाँ नेतृत्व निर्वाचनको समयमा काली र त्रिशूली जस्तो भए छुट्टाछुट्टै बगे पनि अब नारायाणी नदी जस्तो विशाल बनेर काम गर्नुपर्ने शुभकामना दिए । उनीहरुले नयाँ नेतृत्वले संस्थाको गरिमा र शाख जोखाउन प्रभावकारी भूमिका खेलोस् भन्ने शुभकामना दिए । कार्यक्रममा अध्यक्ष पदमा पराजित उम्मेदवार ज्ञानेन्द्रमान शाक्यले आफूले प्रजातान्त्रिक पक्रियाबाट निर्वाचन लड्न हिम्मत गरेको विचार राखे । उनले भने, ‘ म नयाँ निर्वाचित कार्यसमितिलाई सधै सही मार्गनिर्देशन गर्नेछु । निर्वाचनमा पराजित भए पनि मैले धरै शिक्षा र ज्ञान लिएको छु । ’
सोही पद हस्तान्तरण तथा शपथग्रहण समारोहमा उद्योग वाणिज्य संघका कर्मचारीहरु, निर्वाचन विद्युतीय मेसिन सञ्चालन गर्ने लक्ष्मण रिमाल, निर्वाचन समितिका पदाधिकारीहरु र आर्थिक पत्रकारिता पुरस्कार छनोट समितिका पदाधिकारीहरुलाई सम्मानपत्र र प्रशंसापत्रले सम्मानित गरिएको थियो । निवर्तमान अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु चन्द्रलाल श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, नारायण पिया, देसीराम प्रधान, रामप्रसाद श्रेष्ठ, प्रचण्डलाल प्रधान, रमेशकुमार पिया र उदयकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

























