अन्तर्राष्ट्रिय
इरानको दाबीः मिसाइल आक्रमणमा ८० अमेरिकीको मृत्यु भएको छ

एजेन्सी,पुस २३-
इराकमा रहेका दुई अमेरिकी सैन्य बेसक्याम्पलाई लक्षित गरेर भएको मिसाइल आक्रमणमा कम्तिमा ८० जना अमेरिकी नागरिक मारिएको इरानले दाबी गरेको छ । इरानको राष्ट्रिय टेलिभिजनले बुधबार बिहान गरेको एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तिमा ८० जना अमेरिकी ‘आतंककारी’ को मृत्यु भएको दाबी गरेको हो । तेहरानले १५ वटा मिसाइल आक्रमण गरेको जनाइएको छ ।
इरानको राष्ट्रिय टेलिभिजनले रिभोलुसनरी गार्डका उच्च अधिकारीलाई उद्धृत गर्दै १०० जना भन्दा बढी घाइते भएको दाबी गरेको छ । आक्रमणमा अमेरिकी हेलिकप्टर तथा सैन्य सामग्रीमा गम्भीर क्षति पुगेको समेत इरानी टेलिभिजनको दाबी छ ।
इराकमा रहेका अमेरिकी सैनिकका दुई बेसक्याम्पलाई निशाना बनाएर इरानले बुधबार बिहानै एक दर्जनभन्दा बढी मिसाइल आक्रमण गरेको हो । इराकको इरबिल र अल असदमा रहेका अमेरिकी सैनिकका दुई बेसक्याम्पमा इरानले एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
इरानले सो आक्रमण गएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको हवाई आक्रमणमा मारिएका कुड्स फोर्सका प्रमुख मेजर जनलरल सुलेमानीको हत्याको प्रतिशोध रहेको बताएको छ । इरानले गरेको आक्रमणमा मानवीय क्षति भए–नभएको खुलेको छैन ।
इरानका विदेश मन्त्री जावेद जारिफले संयुक्त राष्ट्रसंघको आत्मरक्षा सम्बन्धी व्यवस्था रहेको आर्टिकल ५१ को मातहतमा रहेर अमेरिकी सैनिकका दुई बेसक्याम्पमा आक्रमण गरेको उल्लेख गरेका छन् ।


























