देश/प्रदेश
गृहकार्य नगरेको भन्दै शिक्षकले निर्घात कुटे विद्यार्थीलाई

बुटवल पुस २०
रुपन्देहीमा गृहकार्य नगरेको भन्दै शिक्षकको कुटाईबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।
सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा रहेको ज्ञानदिप बोर्डिङ स्कूलका शिक्षक शैलेन्द्र बरईले कक्षा पाँचमा अध्ययनरत् विद्यार्थी तौफिक धुनियालाई कुुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।
कुटाइबाट विद्यार्थी धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । गएको बुधबार पनि घटना शनिबार मात्रै बाहिर आएको छ । विद्यार्थी कुटपिट गर्ने बरई शिक्षक फरार छन् । सोही दिनदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ।
गृहकार्य गर्न नसकेर विद्यालय जाँदा धुनिया माथि कुटपिट गरिएको परिवारले जनाएको छ । विद्यार्थी धुनियाँको उपचार स्थानीयस्तरमा सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको धुनियाका हजुरबाबा मोहम्मद हुसेन धुनियाले बताए ।
इलाका प्रहरी कार्यालय मर्चवार प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकाल आफूूहरुले फरार शिक्षको खोजी गरिहेको बताए । ‘परिवारले उजुरी भने अहिलेसम्म दिएको छैन । ‘हामी खोजी गरिरहेका छौ । प्रक्रिया पुर्याएर पक्राउ गरी आवश्यक कारवाही गछौं,’ ढकालले भने ।
शिक्षकलाई अटेरी गरेको र गृहकार्य नगरेको कारण शिक्षकले उनलाई सामान्य तर्साएको उनको दावी छ । विद्यालयले कक्षा ४ सम्मको मात्र अनुमति लिएको पाइएको छ ।
























