देश/प्रदेश

अब इलमी हातले गाउँ छोड्नु पर्दैन : मन्त्री लम्साल

Banner

पर्वत, पुस ६-

पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो ।

महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनुनपर्ने बताए । उनले तीनै तहका सरकार बनेपछि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनमा आएको बताउँदै मन्त्री लम्सालले अब गाउँ–गाउँमा स्वरोजगारका बाटाहरु खुलेको बताए । उनले अब राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गरे।

मन्त्री लम्सालले उद्यम व्यवसाय गर्ने जोसुकै युवालाई राज्यले सहयोग गर्ने बताउनुभयो । उहाँले गाउँ–गाउँमा उद्यम सिर्जना गर्न लागिपरेको बताए । उनले पर्यटन, कृषि, उद्यम तथा ऊर्जाको क्षेत्रमा अनुदान वितरण गरिरहेको बताउँदै गाउँमै उद्यम सिर्जना गर्न आग्रह गरे । उनले घरवास (होमस्टे)लाई प्रभावकारी बनाउन पनि आग्रह गरे । गण्डकी प्रदेशले २७४ घरवास बनाएको बताउँदै घरवास प्रभावकारी भएमा पर्यटकको कमी नहुने र जुनसुकै व्यवासाय गर्नका लागि पनि गण्डकी प्रदेश सरकारले बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको बताए ।

कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले विकासबाट विमुख बनेको विहादी बिस्तारै उज्यालोको दिशामा जान थालेको बताए । विविध समस्याले गाउँपालिकाले नागरिकका अपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै विकास निर्माणमा सबैको सक्रियता र सहभागिता आवश्यक रहेको बताए । उनले बाच्छामा सञ्चालित घरवासलगायत विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्नका लागि पहल गर्ने बताए।

महोत्सवमा भलिबल प्रतियोगिता, स्थानीय गुरुङ समुदायका परम्परागत सांस्कृतिक कार्यक्रम लोकगीत प्रतियोगिता, नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>