देश/प्रदेश
दैलेख ठाटिकाँध गाउँपालिका अध्यक्ष अपहरणमा, श्रीमतीलाई छोडियो

दैलेख पुस ६ —
दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । राति १२ बजेको समयमा घरमा आएको १५ १६ जनाको टोलीले शाहीलाई श्रीमतीसहित अपहरण गरेको शाहीका भाइ हस्तबहादुर शाहीले बताए ।
ठाटिकाँध गाउँपालिका वडा नं–२ शेरीपाटामा रहेको आफ्नै घरबाट उनीहरुलाई अपहरण गरिएको हो । अपहरण विप्लव समूहले गरेको अनुमान गरिएको छ ।
भाइ हस्तबहादुर शाही समेत केही दिन अघि अपहरणबाट मुक्त भएका थिए । दाई भाउजु खोज्नु आफू बिहानै गुईच्याखर्क जंगलमा पुगेको र भाउजु इलालाई भेट्टाएको उनले बताएका छन् । ‘दाइलाई गुईच्याखर्क जंगलमा राखिएको छ । राजनीतिक मुद्दा भएकाले अपहरण गरिएको र २र३ दिनभित्र दाइलाई छाड्ने आश्वासन दिएर भाउजुलाई मुक्त गरे,’ उनले बताए ।
अध्यक्ष शाहीलाई विप्लवका हतियारधारी कार्यकर्ताले जंगलमा राखेको उनले बताए । ‘उनीहरुले हामी विप्लवका कार्यकर्ता हौं, उहाँसँग सोधपुछ गर्नुछ भनेर छोड्न मानेनन्,’ शाहीले भने ।
दैलेख जिल्ला प्रहरीका प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सुचना पाउने बित्तिकै प्रहरी परिचालन गरिएको बताए । प्रदेश प्रहरी कार्यालय र जिल्लाबाटसमेत खोजीकार्यलाई तीव्र बनाइएको उनको भनाइ छ । कान्तिपुर दैनिकबाट
























