क्रिकेट
पीपीएलः चितवन राइनोजले गर्यो तीन खेलाडी फुकुवा, दुई खेलाडी भित्र्यायो

चितवन, मंसिर १२–
पोखरा प्रिमियर लिग (पीपीएल) मा आउँदो सिजनका लागि चितवन राइनोजसंगै अन्य ६ फ्रेन्चाइज टोलीले खेलाडी फुकुवा गरेका छन् ।
आज (सोमबार) सहभागी ६ फ्रेन्चाइज टोलीले नै समान तीन÷तीन जना खेलाडी फुकुवा गरेका हुन् । गत संस्करणको उपविजेता चितवन राइनोजले अनुभवी स्पिनर शक्ति गौचन, आकाश थापा र स्वप्नील अधिकारीलाई फुकुवा गरेको छ । पारस खड्काको कप्तानीमा रहेको चितवनका लागि शक्तिले गत सिजन ७ खेलमा ३ विकेट लिएका थिए । शक्तिले गत वर्ष एभरेष्ट प्रिमियर लिगदेखी घरेलु क्रिकेटबाट विश्राम लिइसकेका छन् ।
यस्तै चितवनले विक्रम शोबलाई एक लाख ३० हजार र विक्रम भुषाललाई ५० हजार रुपैयाँमा टिममा अनुबन्ध गरेको छ ।
त्यस्तै गत वर्षको विजेता पोखरा पल्टनले लेग स्पिनर विक्रम भुषाल, अलराउन्डर दिपेश खत्री र तीव्र गतिका बलर दिव्यांशु मलिकलाई फुकुवा गरेको जनाएको छ । विक्रमले गत वर्ष ६ खेलमा ६ विकेट लिएका थिए । यस्तै बुटवल ब्लास्टर्सले राष्ट्रिय टोलीबाट खेलिसकेका अलराउन्डर सागर पुन, स्पिनर अनिल खरेल र विकेटकिपर प्रकाश केसीलाई फुकुवा गरेको छ । सागर गत पुषमा ईपीएल चोट बोकेदेखि मैदानबाहिर छन् । खुट्टाको चोटका कारण शल्यक्रिया गरेका उनी मैदान बाहिर रहेका छन् । सागरले गत वर्षको पीपीएलमा ५ खेलमा ३ विकेट लिनुको साथै ७९ रन जोडेका थिए ।
विराटनगर टाइटन्सले हिमांशु दत्त, ओपनर जितेन्द्रसिंह ठकुरी र विकेटकिपर रोविन जोशीलाई फुकुवा गरेको जनाएको छ । त्यस्तै दीपेन्द्र सिंह ऐरी कप्तान रहेको एक्सपर्ट धनगढी ब्लुजबाट विकेटकिपर दिलिप नाथ, अलराउन्डर योगेन्द्र सिंह कार्की र सन्तोष भट्ट फुकुवा भएका छन् । गत वर्ष दिलिपले ५ खेलमा ३२ रन मात्र जोडेका थिए । योगेन्द्र सिंह कार्कीले २ खेलमा २३ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।
ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन वारियर्सबाट ओपनर नरेश बुढाएर, सुधिर चौधरी र तीव्र गतिका बलर सुमित झा फुकुवामा परेका छन् । टोलीले गतवर्ष काठमाडौं रोयल्स नाम रहेकोमा यस सिजन नाम परिवर्तन गरेको हो । दोस्रो संस्करणको पीपीएल मंसिर २८ देखि पुष १२ सम्म पोखरा रंगशालामा हुने छ ।
























