देश/प्रदेश

पत्रकार महासंघमा पदाधिकारी कोटा छुट्याउः थारु पत्रकार संघ

Banner

काठमाडौं, मंसिर १–

थारु पत्रकार संघ नेपालले समानुपातिक सिद्धान्त अनुरुप नेपाल पत्रकार महासंघको विधानमै थारु पत्रकारका लागि पदाधिकारीमा कोटा निर्धारण गर्न माग गरेको छ ।

संघको काठमाडौंमा बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीमै कोटा निर्धारण गर्न माग गरेको हो ।
बैठकले पाँचबुदे घोषणापत्र जारी गर्दै पहिलो बुँदामै कोटा निर्धारण गर्न माग गरेको छ । जारी घोषणा पत्रमा भनिएको छ, ‘नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको विधानमा संविधानले थारु समुदायलाई छुट्टै क्लष्टरको व्यवस्था गरेकाले महासंघको पदाधिकारीमा थारु पत्रकारलाई समेट्े व्यवस्था गरियोस् ।’

यस्तै संघले संघीय सरकारले हरेक वर्ष पत्रकार सम्बद्ध संघ संस्थालाई आर्थिक अनुदान वितरण गर्दै आए तापनि थारु पत्रकार संघलाई अहिलेसम्म अनुदान प्राप्त नभएकाले आगामी वर्षदेखि संघलाई पनि अरु सरह आर्थिक अनुदान दिने व्यवस्था गर्न माग गरेको छ ।

यस्तै नेपाल संवैधानिकरुपले संघीयताको कार्यान्वयनमा गइसकेको र राज्यको सबै संयन्त्रमा समानुपातिक व्यवस्थाअनुरुप जाने प्रतिवद्धताअनुरुप पत्रकार सम्बद्ध निकायमा थारु पत्रकारलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता गराउनुपर्ने, संघले सरकारी तथा निजी ठूला सञ्चारगृहमा थारु पत्रकारको सहभागिता शुन्यप्राय रहेकाले समानुपातिक सिद्धान्तका आधारमा सहभागिताको व्यवस्था गर्न समेत माग गरेको छ ।

त्यस्तै, थारु पत्रकारको सशक्तिकरणमा ध्यान दिइनुपर्ने र थारु पत्रकार संघ नेपालको महाधिवेशन प्रतिनिधि पत्रकार भिमप्रसाद चौधरी मोटरसाईकल दुर्घटनामा परी घाइते भएकाले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । त्यस्तै, संघका रुपन्देही जिल्ला अध्यक्ष राज चौधरीलाई अज्ञात समूहले हातपात तथा दूव्र्यवहारको घटनाप्रति आपत्ति जनाएको छ । दोषीको छानविन गरी कारवाहीको माग समेत गरेको छ ।

संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको बैठकले काठमाडौं उपत्यकाबाट दुईजना पत्रकारलाई सदस्यमा मनोनित गरेको छ । बुनु थारु (दाङ) र लक्ष्मी चौधरी (कञ्चनपुर) लाई सदस्यमा मनोनित गरिएको हो । बुनु थारुलाई काठमाडौं उपत्यका इन्चार्जको जिम्मेवारी समेत प्रदान गरिएको अध्यक्ष दहितले बताए । त्यस्तै, संघले थारु पत्रकार संघको वार्षिक मुखपत्र फूलरियालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

उपत्यकासहित १७ जिल्लामा शाखा रहेको थारु पत्रकार संघमा करिब तीनसय पत्रकार आवद्ध छन् । संघ २०६७ चैत १६ गते विधिवत दर्ता भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>