चितवन विशेष
गणित शिक्षा परिषद् चितवनको दशौँ वार्षिक साधारण सभा

चितवन, मंसिर १–
गणित शिक्षा परिषद् चितवनको दशौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
गणित शिक्षा परिषद् चितवनका अध्यक्ष गेहेन्द्रराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्को न्युजलेटरको पहिलो अंकको विमोचन गरिएको छ । कार्यक्रममा परिषद्का उपाध्यक्ष बसन्तराज लामिछानेले चितवन जिल्लामा गणित शिक्षण सिकाइसम्बन्धी विषयवस्तुहरु प्रकाशित गरी गणित शिक्षाको विकासमा थप सहयोग पु¥याउने उद्देश्यले न्युजलेटरको प्रकाशन गरिएको जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथिमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सीताराम कोइराला, विशिष्ट अतिथिहरुमा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईँ रहेका थिए । कार्यक्रममा गणित शिक्षामा जीपीए ४ ल्याएर राष्ट्रियस्तरमा नाम राख्न सफल व्यक्तित्वहरु सुवास कँडेल, सुप्रिया दाहाल, आयुसा सापकोटा, इशानकुमार भट्टराई, आसिस पौडेल, विश्वास पौडेल, हिमाल रानाभाट, होमनाथ पौडेललाई परिषद्ले खादा र प्रमाणपत्रद्वारा सम्मानित गरेको थियो ।
त्यस्तै वार्षिक साधारणसभामा परिषद्को अनुसन्धानमूलक कार्यक्रमलाई सहयोग गरेको भन्दै गैँडाकोट इग्लिस बोर्डिङ स्कुल, प्याब्सन चितवन र गुरुकुल उच्च माविलाई पनि विशेष प्रशंसापत्रद्वारा सम्मान गरिएको परिषद्का उपाध्यक्ष लामिछानेले नारायणी अनलाइनलाई जानकारी दिए । विसं २०५७ सालमा चितवनमा स्थापना भएको गणित शिक्षा परिषद्ले गणित शिक्षाको क्षेत्रमा विभिन्न अनुसन्धानमूलक कार्यक्रमहरु गरेर नविन ज्ञानको आदानप्रदान गर्दै आइरहेको छ ।
























