देश/प्रदेश

चितवनमा २९ हजारभन्दा बढी आर्थिक प्रतिष्ठान ,एक लाख बढीले पाए रोजगारी

Banner

चितवन कात्तिक २४

जिल्लामा २९ हजार २३७ प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न देखिन्छन् । तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले आज यहाँ राष्ट्रिय आर्थिक गणना २०७५ सार्वजनिक गर्ने क्रममा ती प्रतिष्ठानमा एक लाख चार हजार ६२७ ले रोजगारी पाएका बताए ।
ती प्रतिष्ठानमा प्रत्यक्ष संलग्न जनशक्तिमध्ये पुरुष ६३ हजार ५१७, महिला ४१ हजार ११० रहेकामा ५८ प्रतिशत दर्ता भएका र ४२ प्रतिशत दर्ता नभएका प्रतिष्ठान रहेको उनको भनाइ थियो ।

कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित उपकरण आपूर्ति, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन, निर्माणलगायत विषयसँग सम्बन्धित प्रतिष्ठान रहेको पाइएको छ । यस्तै थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थापन, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा, घर जग्गा कारोवार, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलाप, कला, मनोरञ्जन तथा मनोविनोद र अन्य सेवाका प्रतिष्ठानहरु पनि रहेका छन् ।

ती प्रतिष्ठानको व्यवस्थापकीय जिम्मेवारी १८ हजार ३०८ वटामा पुरुष र १० हजार ९२८ वटामा महिलाको भूमिका रहेको पाइएको छ । विसं २०७० यता बढी खुलेका ती प्रतिष्ठानमध्ये सोही वर्षमात्र १८ हजार ३९५ प्रतिष्ठान खुलेको सो कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । गणनाका क्रममा जिल्लालाई २१ क्षेत्रमा विभाजन गरिएको थियो । जिल्लामा रहेका प्रतिष्ठानमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १७ हजार ७७ रहेको जनाइएको छ ।

यस्तै रत्ननगर नगरपालिकामा चार हजार १४४, खैरहनी नगरपालिकामा दुई हजार ७४९, राप्ती नगरपालिकामा एक हजार ७५३, कालिका नगरपालिकामा एक हजार ५१६ प्रतिष्ठान छन् । यसैगरी माडी नगरपालिकामा एक हजार सात र इच्छाकामना गाउँपालिकामा ९८८ आर्थिक प्रतिष्ठान छन् । गणनाअनुसार नेपालमा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान छन् । तीमध्ये ५०।१ प्रतिशत दर्ता भएका, ४९.९ दर्ता नभएका र ०.०४ प्रतिशत दर्ताको स्थिति नखुलेको रहेका छन् । ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ ले रोजगारी पाएकामा २० लाख १२ हजार २३७ पुरुष र १२ लाख १६ हजार २२० महिला भएको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>