इच्छकामना
मुग्लिनमा पार्किङ शुल्कको नाममा अवैध असुली, स्थानीय प्रशासन बेखबर

मुग्लिन, चितवन, कात्तिक २१-
चितवनको इच्छाकामना गाँउपालिकाअन्र्तगत पर्ने मुग्लिङ बजारमा सशुल्क पार्किङको नाममा अवैध असुली भइरहेको पाइएको छ ।
स्थानीय क्लबको नाममा सशुल्क पार्किङ भन्दै अवैध असुली भइरहेको हो । स्थानीय त्रिवेणी युवा क्लबको नाममा केही पहुँचवालाहरुले यस्तो अवैध असुली धन्दा मच्चाएको स्थानीयले बताएका छन् ।
‘त्रिवेणी युवा क्लबद्वारा सञ्चालित सशुल्क पार्किङ तथा सरसफाइ सहयोगार्थ रसिद’ प्रति गाडी साना सवारीको ५० र ठूला सवारीको ७० रुपैयाँसम्म लिइएको छ । सशुल्क पार्किङबाट दैनिक हजारौं रुपैयाँ उठ्ने गरेको एक स्थानीय ब्यापारीले जानकारी दिए । स्थानीय सरकार तथा अन्य कुनै निकायबाट स्वीकृति समेत नलिइकन क्लबको नाममा धाक धम्कीकै भरमा अवैध असुली भइरहेको भए पनि नजिकै रहेको इलाका प्रहरी कार्यालय मुग्लिन भने मुकदर्शक बनेको स्थानीय व्यापारी आरोप लगाए । दैनिक हजारौं रुपयाँ उठ्ने मुग्लिनको पुरानो पुललगायतको सो सार्वजनिक स्थानलाई सशुल्क पार्किङ क्षेत्र बनाइएको छ ।
क्लबका अध्यक्षले आफूहरुले निजी जग्गा भाडामा लिई रकम असुलेको जीकिर गरे । अध्यक्ष मुक्तिकुमार श्रेष्ठले निजी जग्गा भाडामा लिई पार्किङ स्थल बनाएको बताए पनि सो स्थानका जग्गाधनी खुमप्रसाद पन्तसँग बुझ्दा उनले आफूसँग पार्किङको लागि कोही जग्गा भाडामा लिन नआएको बताए । उनले भने, ‘मेरो जग्गा देखाएर सडकमा पार्किङ गरेको भन्दै आपत्ति जनाए । यता, गाँउपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठसँग सम्पर्क बुझ्दा यस बिषयमा आफूलाई केही थाहा नभएको बताए । क्लबका अध्यक्ष गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठको दाइ हुन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन लामाले सार्वजनिक स्थानमा कुनै पार्किङ नभएको जनाएका छन् ।
अवैध हो : गाउँपालिका प्रमुख
इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङ ‘त्रिवेणी युवा क्लब’लाई मुग्लिन बजारमा सशुल्क पार्किङ उठाउन दिइएको बारे आफूलाई केही थाहा नभएको बताइन् । उनले भनिन् ‘खोई कसले के भनेर उठाएको छ, मलाई थाहा छैन् म यसबारे बुझ्नेछु । बिना टेण्डर खै कसरी कसले पार्किङ शुल्क उठाएको छ भने त्यो अवैध हो ।’ त्यसैगरीे प्रहरी प्रमुख दान बहादुर मल्लले गैंरकानुनी असुली तत्काल रोकिने बताए । उनले भने, ‘मुग्लिन प्रहरीलाई आफूले तत्कालै उक्त सशुल्क पार्किङ रोक्न निर्देशन दिन्छु ।’

























