इच्छकामना
तीन वर्षमा मुग्लिन-पोखरा राजमार्ग चारलेन,एडीबीले निकाल्यो २२ अर्वको टेण्डर

चितवन,कात्तिक २१-
मुग्लिनदेखि पोखरासम्म पुग्ने सडक चार लेनमा विस्तार प्रक्रिया सुरु भएको छ। मुग्लिनदेखि पोखरा पुग्ने हालको सडकलाई स्तरोन्नती गर्न आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी)ले ग्लोवल टेण्डर निकालेको छ। एसियाली विकास बैंकले (एडीबी) करिव २२ अर्व रुपैयाँ (१९ करोड ५० लाख डलर)सहुलियत ऋण स्वीकृत गरेसंगै टेण्डर निकालेर निर्माण प्रक्रिया अघि बढाएको हो।
निर्देशनालयका उपप्रमुख सुरेश पौडेलका अनुसार निर्माण थालेको तीन बर्षमा तयार पारिनेछ। टेण्डर प्रक्रिया सकेर आगामी असारपछि निर्माण सुरु गर्न लागिएको छ। खरिद प्रक्रियाका लागि करिव ८ महिना लाग्ने पौडेलले जानकारी दिए। आयोजनाले दुई चरणमा गरेर सडक विस्तारको काम सुरु गर्न लागेको छ। पहिलो चरणमा आबु खैरेनी पोखरा र दोस्रो चरणमा आबुखैरेनी मुग्लिन निर्माण गर्ने योजना छ।
आबुखैरेनी मुग्लिन खण्डमा मर्स्याङदी पावर हाउस पर्छ। यस क्षेत्रको जटिल खालको भुगोल रहेका कारण हालको विद्यमान सडकलाई विस्तार गर्न सकिँदैन।आयोजनाले चार लेनको बनाउने विकल्पका लागि परामर्शदाता कम्पनी हायर गरेर प्रतिवेदन समेत तयार पारिसकेको छ। अहिले मर्स्याङडी दायाँ किनारमा सडकसँगै बायाँ किनारमा दुई लेन निर्माण गर्न लागिएको छ।
आबुखैरेनी पोखरा करिव ८१ किमी पर्दछ भने मुग्लिन आबुखैरेनी करिव ८ किमी पर्छ। हालका पुलहरुसँगै नयाँ पुलहरु समेत निर्माण गर्न लागिएको छ। करिव २० वटा नयाँ पुल निर्माण हुनेछ। यो सडक निर्माणले काठमाडौंबाट पोखरा जाने पर्यटकहरुका लागि सहज हुनेछ भने पोखरामा निर्माणाधीन अन्तराष्ट्रिय विमास्थलका लागि समेत सहयोगी हुनेछ। यो सडकसँग विमानस्थलको लिकं रोड जोड्ने विषयमा समेत विमानस्थलसंग सहकार्य गरेर काम गर्न लागिएको पौडेलले जानकारी दिए।
आयोजनाका अनुसार बजार एरियामा बाहेकका स्थानमा चार लेनको हुनेछ। बजार बस्ती भएका एरियामा दुई लेन थपेर ५ लेनको बनाईनेछ।
सडकसँगै ओभरहेड ब्रिज समेत निर्माण हुनेछ। ती स्थानमा ४० मिटर सडकको चौडाई हुनेछ भने बाकीमा २५ मिटर कायम गरिने आयोजनाले जनाएको छ।
























