इच्छकामना
चितवनको शक्तिखोर–फिस्लिङ सडक निर्माणको काम धमाधम

कृष्ण आचार्य,
चितवन कात्तिक २१-
चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । एसियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम धमाधम भइरहेको हो ।
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई ललितपुरले अनुगमन गर्ने गरी गतवर्षको पुस महिनामा शिलान्यास भएको सडकको २५ प्रतिशत निर्माणको काम सम्पन्न भएको आयोजनाका इन्जिनियर कालीबहादुर शाहीले जानकारी दिए । ‘दशैँ अघिसम्म २१ प्रतिशत निर्माणको काम सकिएको थियो’ उनले भने –‘अहिले २५ प्रतिशतसम्म काम सम्पन्न भएको छ ।’ निर्माणमा कुनै अवरोध नआए तोकिएको समयमा नै निर्माण सम्पन्न हुने उनको दावी छ ।
चेपाङको बाहुल्य रहेका पहाडमा पिच सहितको सडक निर्माण हुने भएपछि स्थानीय दङ्ग छन् । स्थानीय शन्तबहादुर चेपाङ दिनभर हिँड्नुपर्ने बाटो सडक निर्माण भएपछि एक÷दुई घण्टामानै पार गर्न सकिने भएको बताउँछन् । उनले ढिलासुस्ती नगरी समयमै गुणस्तरिय सडक निर्माण गर्न आग्रह गुरे । स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य वस्तुहरु सडक निर्माणपश्चात बजार लैजान सहज हुने उनले बताए ।
शक्तिखोरदेखि फिस्लिङसम्मको दूरी ४७ किमि छ । तर, ३७.९ किमि सडकमात्रै कालोपत्रे हुनेछ । निर्माणको जिम्मा साञ्जी एण्ड आशिष जेभीले पाएको छ ।
कम्पनीले ७८ करोड ९६ लाख १७ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का पाएको हो । सडक निर्माणका क्रममा ७.२५ मिटर चौडा पारिने छ । निर्माण कम्पनी साञ्जी एण्ड आशिष जेभीका प्रमुख रोशन आचार्यले ड्रेन बाहेकको ४.५ मिटर पिच गर्नुपर्ने धारणा निर्माण व्यवसायीको तर्फबाट राखेको बताए । ‘सम्झौता अनुसार ३.७५ मिटरको पिच हुने उल्लेख छ, उनले भने, –‘बलियो सडक निर्माणका लागि ड्रेनसम्म नै पिच गर्नुपर्छ ।’

उनले शक्तिखोर र फिस्लिङ दुवै तर्फबाट सडक निर्माणको काम धमाधम भइरहेको बताए । चार किमि नयाँ ट्रयाक खोलेको र अन्य पुरानै ट्रयाक हुँदै बाटो जोडिएको उनले जानकारी दिए । शक्तिखोर–उपरदाङगढी, उपरदाङगढी–तेर्से र तेर्से–तोलाङसम्म तीन खण्डमा विभाजन गरी निर्माणको काम गरिरहेको उनको भनाइ छ । सडकको ६५ प्रतिशत काम असारसम्म निर्माण सम्पन्न गरिसक्ने आचार्यको दावी छ ।
सांसद कृष्णभक्त पोखरेलले सडक निर्माण पश्चात पहाडी क्षेत्रमा पर्यटक चहलपहल बढ्ने र शक्तिखोर व्यापारिक केन्द्र बन्ने बताए । मलेखु–भण्डारा चेपाङ मार्गसमेत यो सडकमा जोडिने र नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडकका रूपमा विकास हुने धारणा पोखरेलले राखे । शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रलाई यो सडक निर्माणले सहज बनाउने उनको भनाइ छ । आफ्नो क्षेत्रको प्रमुख प्राथमिकताको सडकका रुपमा शक्तिखोर फिस्लिङ सडकलाई राखेको पोखरेलले बताए ।
प्रदेश सांसद् घनश्याम दाहालले सिराइचुली, उपरदाङगढी, सिन्ती झरनालाई मूल सडकमा जोड्न प्रदेश सरकार अग्रसर रहेको बताए । ‘तराई र पहाड जोड्ने सडकका रूपमा यो सडक चिनिनेछ,’ उनले भने, –‘त्रिशूली नदीसँग जोडेर यो वैकल्पिक बाटोका रूपमा स्थापित हुनेछ ।’ उनका अनुसार शक्तिखोर–फिस्लिङ सडकमा केही वर्ष पहिले आरआरएनले १२ करोड रुपैयाँ खर्चेर ट्रयाक खोलेको थियो ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले शक्तिखोर फिस्लिङ सडक नगरपालिकाको प्राथमिकताको सडक भएको बताए । उनले सडक निर्माणपछि पहाडी क्षेत्रका मुहार फेरीने र नगरपालिकालाई चलायमान बनाउने बताए । उनले सडक निर्माणको काम समयमै सम्पन्न गराउनका लागि निगरानी गरिरहेको जानकारी दिए ।
























