खैरहनी
खैरहनी नगरपालिकाको वार्षिक समीक्षाः कूल बजेटको ८६.५४ प्रतिशत खर्च

चितवन, कात्तिक २०-
चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७५\७६ मा करिब सात किलोमिटर सडक कालोपत्रे गरेको छ ।
गत आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रममा बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले प्रगति विवरण प्रस्तुत गर्दै गत एक वर्षमा ६ किलोमिटर ६७७ मिटर सडक कालोपत्रे गरिएको बताए ।
त्यस्तै तीन किलोमिटर ८३ मिटर कालोपत्रे मर्मत, १० हजार ९९४ मिटर ग्राभेल, पाँच हजार ३७६ मिटर उच्चस्तरीय ग्राभेल, ७०० मिटर मोजाइक टायल बिच्छाइएको शर्माले बताए । उनका अनुसार गत वर्ष कूल बजेटको ८६.५४ प्रतिशत खर्च भएको छ । नगरमा क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघ, उद्योग संघ, नेपाल चेम्बर अफ कमर्स, जनप्रतिनिधिहरुको उपस्थितिमा समीक्षा गरिएको थियो ।
कार्यक्रममा नेकपाका नेता झगरु चौधरीले प्रत्येक वर्षको विकास निर्माणको तुलनात्मक अध्ययन गरेर काम गर्न सुझाव दिए । नेपाली कांग्रेस नगर सभापति शशीकुमार खनियाले नगरवासीलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना कार्यान्वयन गर्नुपर्ने धारणा राखे । नगरको आवश्यकता पहिचान गरी काम गर्न समेत उनले सुझाव दिए । नेकपाका नेता लक्ष्मी ढकालले नगरको प्रमुख व्यापारिक केन्द्र पर्सा बजारमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने बताइन् ।
जवाफमा खैरहनीका मेयर लालमणि चौधरीले दलहरु, नागरिक समाज, उद्योगी, व्यापारी, वुद्धिजीवीलगायतको सुझावलाई आत्मसाथ गरिरहेको बताए । मेयर चौधरीले गरिबी निवारणसँगै पूर्वाधार निर्माणको काम पनि सँगै अघि बढाएको बताए । नगरको क्षमताका आधारमा फोहोर व्यवस्थापन हुँदै आएको तर यो विषय चुनौतीपूर्ण रहेकाले नगरवासीको साथ चाहिने उनको भनाइ थियो । मेयर चौधरीका अनुसार यो वर्ष नगरभित्र चार वटा सार्वजनिक शौचालय निर्माण गर्ने समेत प्रतिबद्धता जनाए । कार्यक्रममा स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले शिक्षाका विषयमा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।
























