देश/प्रदेश

कालापानी र लिपुलेक नेपाली भूभाग, सीमा विवाद समाधान गर्छौं : सल्लाहकार डा. भट्टराई

Banner

काठमाडौं, कात्तिक २०-

प्रधानमन्त्री केपीशर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा भट्टराईले नेपाली भूभागलाई भारतीय नक्सामा राखेकोमा आफूहरुको गम्भीर ध्यानाकार्षण भएको स्पष्ट पारेका छन् । उनले भने,‘कालापानी नेपाली भ–ूभाग हो । ऐतिहासिक तथ्यले पनि त्यही भन्छ । हाम्रो मान्यता पनि यही हो । १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ । कालापानीलगायत सबै सीमा विवाद टुँग्याउनुपर्छ ।’ साक्षात्कारमा बोल्दै उनले सिमा विवादहरु सहमतिअनुसार कुटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने धारणा राखे । उनले थपे,‘त्यसको आधारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । अर्को विकल्प छैन् ।’ वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको पनि उनले सुनाए ।
सीमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निष्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उनको भनाइ छ । उनले भने,‘जुनसुकै समस्याको समाधान कुटनीतिक निष्कर्षमा पुग्नुपर्छ ।’ सरकारले जीपीएस. प्रणालीमार्फत सीमा व्यवस्थित गर्न गैइरहेको पनि सुनाए । उनले भने,‘सरकारले यसबारेमा एउटा टोली बनाएको छ, उनीहरुले अध्ययन गरिरहेका छन्।’

नेपाल र भारतबीच कतिपय सीमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेको पनि उनले सुनाए । उनले भने, ‘कतिपय पिलरहरु हराएका छन् । जमिन अतिक्रमण भएका छन् ।’ नेपाल र भारत दुवैतर्फ रहेका स्थायी संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने पनि उनले जनाए ।

त्यस्तै, उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) मा पनि सीमा विवादसम्बन्धी एउटा बुँदामा विस्तृत सुझाव समेटिएको जनाए । उनले भने,‘हामीले विस्तृत सुझावसहितको प्रतिवेदन तयार पारेका छौं । ईपीजीको प्रतिवेदन छिटो बुझ्नुपर्छ । यसमा नेपाल–भारत सम्बन्धका सबै उतारचढावबारे समग्र सुझाव छ ।’ उनले नेपाल–भारत सम्बन्ध आजको युग सुहाउँदो बनाउनेगरि सरकार अघि बढ्ने विश्वास दिलाए । नेपाल र भारत दुवै सार्वभौमसत्ता सम्पन्न देश भएकोले कुटनीतिक पहलमार्फत समस्याहरु समाधान गर्नुपर्ने धारणा राखे । यही कुरा चीनसँग पनि लागू हुने उनको भनाइ छ ।

सरकारले जनता र भूगोलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे । भट्टराईले भने,‘सरकार यसबाट दायाँबायाँ हुँदैन् । सरकार आफ्नो दायित्वबाट पछि हट्दैन, यदि हाम्रो सीमा तलमाथि भएको रैछ भने पनि हामी कुटनीतिक टेबुलमार्फत समस्याको हल गर्छौं ।’ त्यस्तै, उनले लिपुलेक पनि नेपालकै भएको बताए । भारत र चीनले लिपुलेकबारे गरेको सहमतिमा नेपालले आफ्नो पोजिशन राखिसकेको पनि उनले सुनाए । उनले भने,‘अध्ययनको आधारमा र तथ्यांकको आधारमा लिपुलेक हाम्रो हो । यसमा हाम्रो दाबी हुन्छ ।’ लिपुलेकबारे भारत र चीनबीच भएको सहमति बेठिक भएको उनको दाबी छ । उनले भने,‘यसबारेमा नेपालले दुवै देशलाई पत्राचार गरेर आफ्नो धारणा राखेको छ ।’ उनले आफूहरुले नेपालको भ–ूभाग कुनै पनि हालतमा नछोड्ने स्पष्ट पारे ।

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अत्यन्तै राम्रो भएको दाबी गरे । उनले भने,‘उहाँ अहिले दैनिक कार्यमा व्यस्त हुनुहुन्छ । आजपनि उहाँले साग खेलकुद प्रतियोगिताबारे ब्रिफ लिनुभएको छ । चिकित्सा शिक्षा आयोगको बैठकमा सहभागी हुँदैहुनुहुन्छ ।’ निरन्तर बैठकमा सहभागी भइरहेकोले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>