चितवन विशेष
नारायणी महोत्सवमा दर्शकको भीड

चितवन, कात्तिक १९-
अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणगढको नदी किनारमा सञ्चालन गरिएको ‘नारायणी महोत्सव–२०७६’ को मंगलबार छ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् ।
कात्तिक १५ गतेदेखि सञ्चालन भएको महोत्सवमा मंगलबार दर्शकहरुको संख्या केही कम देखिएको रेबिका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गर्ने गरी नारायणी नदी किनारमा महोत्सवको आयोजना गरिएको राजकर्णिकारको भनाइ छ ।
मंगलबार महोत्सवको विशेष आकर्षणको रुपमा राजनराज सिवाकोटी, प्रताप दास, दीक्षा सुनुवारलगायतका कलाकारहरु रहेका थिए । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले समेत आफ्नो प्रस्तुति राखेका थिए । महोत्सवअन्तर्गत बुधबार चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विक, दिपक खड्का, दीक्षा सुनुवारलगायतका कलाकारले प्रस्तुति राख्ने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए ।
महोत्सवमा शिव परियार, दुर्गेश थापा, कमला घिमिरेलगायतका धेरै कलाकारहरु आउन बाँकी नै रहेको अधिकारीको भनाइ छ । ३०० व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुति भएको अधिकारीले बताए ।
कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको शिक्षा दीक्षा तथा औषधिउपचारमा खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षासमेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग चढ्ने व्यवस्थासमेत मिलाइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव–२०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्रालि रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटीभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।
























