चितवन विशेष
विश्व रेन्जर सम्मेलन सौराहामा अर्को हप्तादेखी , ७१ देशको सहभागि रहने

काठमाडौँ कात्तिक १९ —
वन्यजन्तु संरक्षणमा खटिने विश्वभरका संरक्षणकर्मी रेन्जरहरूको नवौं सम्मेलन चितवनको सौराहामा हुने भएको छ ।कात्तिक २६ देखि चितवन राष्ट्रिय निकुञ्जमा हुने पाँचदिने वर्ल्ड रेन्जर कंग्रेसमा करिब ७१ देशका ५ सय ५० संरक्षणकर्मी सहभागी हुनेछन् ।
इन्टरनेसनल रेन्जर फेडेरेसन (आईआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा हुने उक्त सम्मेलन एसियामा पहिलो पटक हो।
सम्मेलनले नेपालले वन्यजन्तु संरक्षण र अनुसन्धानमा हासिल गरेको उपलब्धिका साथै वन्यजन्तु पर्यटनमा पुर्याएको योगदानले विश्वभर सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। चितवन निकुञ्ज वन्यजन्तु सफारीका लागि मुलुककै पहिलो गन्तव्य हो। एकसिंगे गैंडा, बाघ, हात्तीलगायतका वन्यजन्तु चितवनका मुख्य आकर्षण हुन्। सम्मेलनको तयारीमा खटिएका निकुञ्ज विभागका संरक्षणकर्मी रूपक महर्जनका अनुसार आईआरएफले वन्यजन्तु संरक्षणका सिकाइ, अनुभव साटासाट गर्न र मानव–वन्यजन्तु हितका बारेमा छलफल गर्ने उद्देश्यले हरेकतीन वर्षमा सम्मेलन आयोजना गर्ने गरेको छ।
आठौं सम्मेलनसन् २०१६ माअमेरिकाको कोलोराडोमा भएको थियो। त्यसले नवौं सम्मेलन नेपालमा गर्ने घोषणा गरेको थियो। सम्मेलनलाई वन्यजन्तु संरक्षणमा लागेका विश्वभरका हिरोहरूको भेलासमेत भन्ने गरिन्छ। रेन्जरका हित, स्थानीय समुदाय र रेन्जर, इन्डिजिनियस रेन्जर, क्षमता अभिवृद्धि, महिला रेन्जर, प्रविधि र रेन्जर एसोसिएसनको भूमिकालगायत विषयमा छलफल हुनेछ।
सम्मेलनका दौरान वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा अनुभव बटुलेका विज्ञहरूले आ–आफ्ना मुलुकका सफल उदाहरण प्रस्तुत गर्नेछन्। सम्मेलनपछि ‘सौराहा घोषणापत्र’ जारी गरिनेछ।
























