समाज

अलपत्र अवस्थामा स्याङ्जा गल्याङका ८० वर्षीय वृद्ध,आफ्ना भन्ने कोही छैनन

Banner

स्याङ्जा, कात्तिक १९ –

खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो ।

उमेरले डाडाँ काटिसक्यो, यो बुढेउलीको उमेरमा आफन्तको माया, ममता र स्यारसुसारको आवश्यकता पर्ने बेलामा उहाँलाई आफन्तकै सम्झनाले टोलाइरने बनाएको छ । श्रीमतीको एक वर्ष पहिले मृत्यु भएपछि देवीलाल एक्लो जीवन बिताउँदै आउनुभएको छ । दैनिक गर्नुपर्ने कामको जिम्मा पनि बुढ्यौलीले छोपेका देवीलालकै जिम्मामा परेको छ । रासससँग कुरा गर्दै उहाँले आफ््नो विगत सम्झँदै भन्नुभयो, “जीवनमा धेरै दुःख गरियो, बुढेसकालमा झन् दुःख थपिँदै गएको छ ।”

दुई सन्तान जन्मिए पनि छोराको सानैमा सर्पको टोकाइबाट मृत्यु भएको र विवाह गरेर गएकी छोरीको पनि मृत्यु भएपछि आफ्नो भन्ने कोही नभएको उहाँले बताउनुभयो । नगरपालिकाले घरको छाना टिनले छाइदिएको र त्यही छाउने क्रममा जम्मा भएको फोहर सफा गर्ने क्रममा खुट्टा काटिएपछि समयमै उपचार नगरी बस्दा खुट्टामा समस्या बढ्दै गएपछि पाल्पामा उपचार गराउँदा लागेको ऋण तिर्न रु ५० हजारमा बारी बेचेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालको ऋण तिर्न भएको बारी बेचँे, अब जग्गाको नाममा यही घर भएको बारी मात्रै छ, कसैको सहयोग पाए केही सहयोग हुने थियो, केही काम गर्न सक्ने अवस्था छैन, शरीर लौरीको भरमा हिँडाउनुपर्छ यस्तै छ जिन्दगी आफन्त नभएपछि के गर्नु ?” घरमा एक्लै भएपछि अहिले उहाँको दैनिकी पिँढीमा बसेर आफन्तको सम्झनामा टोलाएरै बित्ने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>