इच्छकामना
चितवनको अग्लो पहाड सिराइचुलीः झुल्के घाममा रमाउँदै पर्यटक

चितवन,कात्तिक १९-
धेरैले चितवनलाई तराइको जिल्लाको रुपमा मात्र लिने गर्दछन् । तर यही चितवन झण्डै आधा भूभाग पहाडले भरिएको छ । यही पहाड मध्येको एक सिराइचुली अहिले धेरैको नजरमा परेको छ । इच्छाकामना गाउँपालिका–१ मा रहेको सिराइचुली धेरैलाई पुगौँ पुगौँ लाग्ने मध्येको एउटा महत्वपूर्ण गन्तव्य हो । राप्ती नगरपालिका–४ का मेन्सिस भेटवालको सोही इच्छा शनिबार पुरा भयो । सिराइँचुली डाँडामा भेटिएका भेटवालले भने, –“धेरै पहिलेदेखिको इच्छा आज पुरा भयो, यहाँको रमणीय दृश्यले सबै दुःख पीडा भुल्यौँ ।”

भेटवाल २०/२२ जनाको टोलीसँगै सिराइचुली डाँडा उक्लिएका थिए । उनीहरुलाई पैदलमार्ग हुँदै शक्तिखोरबाट सिराइचुली उक्लिन झण्डै सात घण्टा लागेको थियो । शुक्रबार साँझ सिराइचुली उक्लिएको युवाहरुको टोली सोही स्थानमा बास बसेको थियो । “सिराइचुलीबारे धेरै जानकार थिएनौँ, यहाँ पुग्दा बास बस्न ठाउँ नपाएर पात ओछ्याएर सानो टहरामा सुत्यौँ” भेटवालले भने, –“साँझको दुःख बिहान उठ्दा देखिएको सूर्योदयको दृश्यले सबै बिर्साइदियो ।” भरतपुरको गणेशधाम संरक्षण संवद्र्धनन समितिको २८ सदस्यीय टोली पनि शुक्रबार हात्तीबाङ बसेर शनिबार बिहानै सूर्योदय हेर्न चुली पुगेको थियो ।

सो टोलीलाई सिराइचुली पुग्न झण्डै दुई घण्टा लागेको थियो । चुली पुगेका केहीले मात्रै सूर्योदय अवलोकन गर्न पाएका थिए । टोलीमा सहभागी नारायणी आवास तथा जग्गा व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले भने, –“समयमै चुली उक्लिदा नजिकैबाट सूर्योदय देख्न पाइयो, यहाँको वातावरण निकै रमाइलो लाग्यो ।” सिराइचुली चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको भन्दै यसलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने उनको धारणा छ ।
सिराइचुली पुग्ने सबै मनोरम दृश्यले लोभिएका थिए । भरतपुरकी अमृता भट्टराईले भनिन्, –“कठिन यात्रा तय गर्दै यहाँसम्म आइपुगियो, यहाँ पुग्दा निकै रमाइलो अनुभूति भयो ।” समितिका अध्यक्ष दिनेशकुमार चुकेले टोलीमा सहभागी अधिकांश पहिलोपटक सिराइचुली पुगेकोले सबै रमाएको बताए ।

उनले भने, –“सुरुमा आकाशमा कुहिरो टन्नै देखिदा सबैले देख्न पाइएला या नपाइएला भन्ने थियो तर साढे ६ बजेतिर रातो घाम निस्कँदै गर्दा सबै रमाए ।” अध्यक्ष चुकेले बाटो केही असहज भए पनि सूर्योदयले सबैलाई खुशी तुल्याएको बताए । उनले भने, –“बाटोलाई सहज, चुलीमै बासको व्यवस्था र सुरक्षाको व्यवस्था गर्न सकिए यहाँ पर्यटक ओइरिन सक्छ ।”
अध्यक्ष चुकेले गणेशधामलाई चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दैआइरहे पनि सिराइचुलीजस्तो अर्को रमणीय ठाउँको पनि उचित प्रचारप्रसारमा लागेको उनले जानकारी दिए । उनले प्रचारप्रसार गर्ने उद्देश्यले नै गणेशधामको टोली सिराइचुली पुगेको बताए । सिराइचुली समुद्र सतहबाट एक हजार नौ सय ९५ मिटर उचाइमा पर्छ ।
यसलाई जिल्लाको अग्लो पहाडको रुपमा लिइन्छ । तत्कालीन चितवन जिल्ला विकास समितिले सञ्चालन गरेको ग्रामीण गरिबी निवारणका लागि पर्यटन परियोजना (टीआरपीएपी) अन्तर्गत सिराइचुलीको पहिचान भएको हो । २०५९ सालपछि यो चुली प्रचारमा आएको हो । उचित तर पूर्वाधार निर्माण र प्रचारप्रसारको काम राम्रोसँग हुन नसक्दा पर्यटकको संख्या उल्लेख्य बढ्न सकेको छैन ।
सिराइचुली प्रचारमा आएपछि हात्तीबाङमा १० वटा होमस्टे बनाइएको थियो तर हाल पाँच वटा मात्रै सञ्चालनमा छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङको हुग्दीखोला मझिमटारदेखि दक्षिणमा हात्तीबाङ पर्दछ । हुग्दीबाट १४ किलोमिटर कच्ची पहाडी बाटो पार गरेर हात्तीबाङ पुगिन्छ ।
हाल सो सडक खण्डमा बस र जीप चल्न थालेका छन् । हात्तीबाङमा बास बसेर पर्यटकहरु सिराइँचुली पुग्ने गरेका छन् । आकाश खुलेका बेला सिराइँचुलीबाट हिमालको लामै लहर देखिन्छ । चैत–बैशाखमा वनैभरि गुराँस फुल्ने हुँदा सूर्योदयसँगै प्रकृतिको पनि आनन्द लिने गन्तव्य सिराइचुली बनेको छ । हात्तीबाङपछि चितवनको पुरानो सदरमुकाम उपरदाङगढी हुँदै शक्तिखोर र सौराहा समेत पुग्न सकिन्छ ।

























