गण्डकी

कावासोती प्रहरी कार्यालय आसपासमा चोरीका घटना बढ्यो

Banner

नवलपुर, कात्तिक १८

कावासोती क्षेत्रमा चोरीका घटना बढेपछि स्थानीय चिन्तित बनेका छन् ।

लगातार जसो चोरीका घटना बढ्दै जादा यहाँका स्थानीय चिन्तित बनेका हुन् । प्रहरी कार्यालय आसपासकै क्षेत्रमा चोरीका घटना घट्ने गरेका छन् । केही समय अघि जिल्ला प्रहरी कार्यालयदेखि सय मिटरको दूरीमा पटक पटक गरी झण्डै १० वटा व्यवसायिक पसलमा चोरी भएका थिए । यसले गर्दा यहाँका व्यापारीसमेत चिन्तित बनेका छन् । कावासोतीमा व्यवसाय गर्दै आएका मोहन तिमिल्सिनाले चोरीका घटना बढेका कारण प्रहरीले विशेष निगरानी गर्नुपर्ने बताउँछन् ।

यस क्षेत्रका सामुदायिक विद्यालयमा समेत चोरीको चपेटामा परेका छन् । पछिल्लो एक महिनाको समयमा यहाँका चार वटा विद्यालयमा चोरी भएका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रबाट १०० मिटरको दूरीमा रहेको कावासोती–३ अठ्ठाइस बिघाको जनविकास विद्याश्रममा लगातार दुई पटक चोरी भएको छ । दुई दिन अघिमात्र विद्यालयको बालविकास केन्द्र, कम्प्युटर ल्याब र पुस्तकालयमा लगाइएको ताला र चुकुल फुटालेर कम्प्युटर ल्याबमा रहेका तीन थान ब्रान्डेड कम्प्युटर चोरी भएको विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले जानकारी दिए । शनिबार विद्यालय बन्द रहेकाले शुक्रबार वा शनिबार राति चोरी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यसअघि पनि दशैं बिदामा विद्यालय बन्द रहेको मौका छोपी सो विद्यालयबाट टेलिभिजन, प्रोजेक्टरलगायतका सामाग्रीहरु चोरी भएको थियो  ।  यसअघि कावासोती–२ मा रहेका नवदूर्गा आधारभूत विद्यालय भाटेटोला, जिल्ला प्रहरी कार्यालयबाट ३०० मिटरको दूरीमा रहेको शिव माध्यमिक विद्यालय शिवबस्ती र कावासोती –१६, डण्डा रहेको दिपेन्द्र आधारभूत विद्यालयमासमेत चोरी भएको थियो । ती घटनामा संलग्न कोही कसैलाई पनि प्रहरीले समात्न सकेको छैन ।

चोरी कार्यमा संलग्न व्यक्ति र चोरी भएको सामग्रीको खोजी भइरहेको र केही शंकास्पद ब्यक्तिलाई सोधपुछका लागि नियन्त्रण लिएर सोधपुछ पछि छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । तर, लगातार जसो चोरीका घटना बढ्न थालेपछि स्थानीयले प्रहरीले रात्रि गस्ती बढाउनुपर्ने बताउँदै आएका छन् । प्रहरीले रात्रि गस्ती कम गर्दा चोरीका घटना बढेको स्थानीयको भनाइ छ । विशेषत चाडपर्वको समयमा सबैजना रमाइलो र आफ्नो काममा भुल्ने हुँदा चोरीका घटना बढेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>