नवलपुर

नवलपुरका वन क्षेत्र डम्पिङ साइट बन्यो, राजमार्ग नै दुर्गन्धित

Banner

ज्ञानु पंगेनी

नवलपुर, कात्तिक १८-

नवलपुरको वन क्षेत्र फोहोर फाल्ने डम्पिङ साइड बन्दा सर्वसाधारण र जंगली जनावारको स्वास्थ्यमा असर परेको छ ।

विशेषगरी गैँडाकोटको थुम्सी जंगल क्षेत्र, कावासोतीको खरकट्टा र डण्डाको जंगल क्षेत्र, मध्यबिन्दु, अरुणखोला, दुम्कीबास र दाउन्नेको जंगल क्षेत्र फोहोर फाल्ने डम्पिङ साइट बनेको छ । सवारीमा यात्रा गर्ने यात्रुले यी जंगल क्षेत्र भएर आवतजावत गर्दा दुर्गन्धले हैरान हुने गरेका छन् । यात्रुहरुले जंगल क्षेत्र प्रवेश गरेपछि नसँकिदासम्म नाक थुनेर सास रोकेर यात्रा गर्न बाध्य छन् ।

राजमार्गमा यात्रारत मोटरसाइकल चालक जनक रामदाम भन्छन्, ‘नवलपुरमा यात्रा गर्दा राजमार्गमा धेरैजसो क्षेत्र जंगल पर्छ, जंगल आयो कि दुर्गन्धले हैरान, मास्कले नछेक्ने एक हातले मोटरसाइकल धानेर एक हातले नाक थुनेर हिन्नु पर्छ ।’ रामदाम त एक प्रतिनिधि पात्र मात्रै हुन् । यहाँबाट यात्रा गर्ने जो कोहीको अवस्था यस्तै हो ।

जंगल क्षेत्रमा रातको समयमा अन्यत्रबाट ट्रक, जिप र ट्याक्टरमा फोहोर ल्याएर फाल्ने गर्दा समस्या उत्पन्न भएको छ । जिल्ला भित्र र बाहिरबाट समेत विभिन्न सेनेटरी पसल , तरकारी र फलफूल पसलका सामग्री डंगुरका डंगुर ल्याएर फाल्ने गरिएको छ । यी बाहेक सर्वसाधारण समेतले साइकल मोटरसाइकलमा पलाष्टिकका थैलीमा विभिन्न किसिमका फोहोर आँखा छलेर मिल्क्याएर जाने गरेको मध्यबिन्दु हरियाली सामुदायिक वन उपभोक्ता समूहकी सचिव केशमाया कुँवरले बताइन् । ‘हामीले वन क्षेत्रमा फोहोर नफाल्न भनि बोर्ड पनि टाँसेका छौ । उपभोक्तालाई पनि आग्रह गरेका छौ । तर पनि कताकताबाट ल्याएर फाल्छन् ।’ कुँवरले भनिन् ‘वनमा जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषण हुने र जंगली जनावरले त्यही फोहोर खादा मृत्यु हुने भएकाले हामीले रातिमा गस्तीसमेत ग¥यौं । कतिपटक त फोहोर फाल्ने ट्याक्टरलाई समातेर वनमा खन्याएको फोहोर उठाएर फिर्ता समेत पाठायौं तर सधै भरी गस्ती गर्न पनि नसकिने रातिमा गाडीमा ल्याएर फोहोर फाल्नेसँग आजित बनेका छौ । ’ कुँवरले भनिन् ।

कावासोती नगरपालिकाले समेत वन क्षेत्रमा फोहोर नफाल्न अनुरोध गर्दै जंगल क्षेत्रमा बोर्ड टाँसेको छ तर बोर्ड टाँसेकै मुनि फोहोरको डंगुर थुप्रिएको छ । नगरपालिकाले डण्डा खरकट्टा जंगल क्षेत्रमा फोहोरमैला निषेधित क्षेत्र भनी बोर्ड टाँसेको छ । बोर्डमा सडक र सार्वजनिक स्थानमा कुनै पनि हानिकारक फोहोरमैला थुपारेको वा निस्कासन गरेमा पाँच सय देखि ५० हजार रुपैँयासम्म जरिवाना हुनेछ भनेर समेत लेखिएको छ । तर, उक्त बोर्डमा लेखिएको कुरालाई बेवास्ता गर्दै बोर्ड मुनीनै फोहोर फालिएको देख्न सकिन्छ ।

बस्ती नजिकैको जंगल क्षेत्रमा समेत फोहोर फालिदा सर्वसाधारणको स्वास्थ्यमा पनि असर परिरहेको यहाँका कतिपय बुद्धिजीवीहरु बताउँछन् । कावासोतीका स्थानीय रामकाजी बराली भन्छन् ‘बिहान बिहानै स्वच्छ हावा लिन सडकमा निस्कदा झनै प्रदूषित हावा लिनुपर्ने अवस्था आएको छ । फोहोरले गर्मीको समयमा रोगको संक्रमण फैलने सम्भावना समेत बढेको छ भने सफा हराभरा हुनुपर्ने वन क्षेत्र कुरुप बन्दै गएको छ ।’

कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि सरसफाइ अभियान सञ्चालन गर्ने, विभिन्न संघसंस्थासँगको सहकार्यमा डस्बिन वितरण गरिरहेको बताउँछन् । तत्कालका लागि नगरभित्रको फोहोर अस्थायीरुपमा व्यवस्थापन गर्दै आइरहेको र दीर्घकालीरुपमा व्यवस्थापन गर्न आधुनिक डम्पिङ साइड निर्माणको काम अन्तिम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

जंगल क्षेत्रमा फोहोर फाल्ने कामलाई पूर्णरुपमा निरुत्साहित गर्न चुनौती भएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताइन् । बोर्ड टाँसेर सचेत पार्न खोजिएको भए पनि त्यो पनि खासै प्रभावकारी हुन नसकेको उनको भनाइ छ । रातको समयमा अन्यत्रबाट गाडीमा ल्याएर फोहोर फाल्ने गर्दा रोक्न समस्या भएको पुनले बताइन् । आगामी दिनमा सरोकारवालासँग छलफल गरी जंगल क्षेत्रमा फोहोर फाल्ने काम पूर्णरुपमा निषेध गर्न ठोस कदम चालिने पुनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>