चितवन विशेष
माडीमा लगानी गर्न चितवनका उद्योगी व्यवसायीलाई आग्रह

माडी, कात्तिक १७-
माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले समग्र माडीको औद्योगिक विकासका लागि चितवन उद्योग संघसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।
माडीमा सञ्चालिन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्थाले गरेको सहकारी प्रशिक्षण तथा योजना कार्यान्वयन सम्बन्धी गोष्ठीमा उनले सो बताएका हुन् । उनले माडीमा चामल, दाल, गहुँ, तेललगायतका खाद्यान्न सम्बन्धी उद्योगहरुको सम्भावना रहेको हुँदा चितवन उद्योग संघले त्यससँग सम्बन्धी उद्योगीलाई उद्योग स्थापना गर्न प्रोत्साहन गरेमा नगरपालिकाको पनि यस कार्यमा सहकार्य रहने बताए ।
चितवन उद्योग संघ एवम् चितवन औद्योगिक साकोसका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा भएको गोष्ठीमा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए । समापन कार्यक्रममा चितवन औद्योगिक विकास साकोसका संस्थापक अध्यक्ष, साकोसका प्रमुख सल्लाहकार एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, चितवन उद्योग संघका गभर्निङ काउन्सिलका संयोजक, पूर्वअध्यक्ष एवम् साकोसका सल्लाहकार हरिप्रसाद सुवेदी, इलाका प्रशासन कार्यालय माडीका प्रमुख गणेश भट्टराई, माडी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्णराज अधिकारी, पत्रकार महासंघ प्रदेश नं. ३ प्रदेश सदस्य सूर्य पाठकलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमअन्तर्गत चितवन उद्योग संघले माडी क्षेत्रका उद्योगीको भौगोलिक एवम् वस्तुगत नक्सांकनलाई आधार बनाइ तयार पारेको परियोजना प्रस्ताव र माडीका सम्पूर्ण उद्योगहरुको तथ्यांक संकलनका लागि तयार गरिएको प्रश्नावली फारम माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललाई हस्तान्तरण गरिएको थियो । समापन कार्यक्रममा चितवन उद्योग संघका पूर्वअध्यक्षहरु, चितवन औद्योगिक विकास साकोसका सञ्चालक समितिका सदस्यहरु, लेखा समितिका पदाधिकारी एवम् सदस्यहरु र विभिन्न उपसमितिका संयोजक एवम् सदस्यहरु, चितवन उद्योग संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न इकाई समितिका संयोजक एवम् सदस्यहरु, चितवन उद्योग संघका वस्तुगत समितिका संयोजक एवम् सदस्यहरुको उपस्थिति रहेको थियो । त्यस्तै महिला उद्यमी मञ्चका संयोजक एवम् सदस्यहरु, युवा उद्यमीहरु, माडी क्षेत्रका उद्योगी एवम् व्यवसायीहरु, संघ र साकोसका कर्मचारीहरु, माडी क्षेत्रका विभिन्न सञ्चार क्षेत्रका प्रमुख एवम् प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता थियो ।
अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे माडीमा सञ्चालन गरिएको कार्यक्रमलाई संघका उपाध्यक्ष एवम् साकोसका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए । कार्यक्रम समापन पश्चात पुन मगर समाज मार्फत् प्रस्तुत विशेष सांस्कृतिक कार्यक्रममा उद्योगीले मनोरञ्जन लिएका थिए ।
























