कृषि

विदेशबाट फर्केर मौरीपालन ,महबाट वर्षेनी लाखौ आम्दानी

Banner

गलेश्वर, कात्तिक १६-

झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थाएका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल भएका छन।

म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल भएका छन । स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेर उनले त्यहाँ पनि सोचेजस्तो कमाइ नभएपछि गाउँ फर्किएर शुरु गरेको मौरीपालन व्यवसायबाट मौरी, मह, पोला र मौरीघार बिक्री गरेर वर्षमा रु १३/१४ लाख आम्दानी गर्दै आएका छन ।

इराकमा सात, साउदीमा चार र भारतमा साढे दुई गरी झण्डै १४ वर्षको समय बिताएर फर्किएका खत्री अहिले गाउँमै मौरीपालन व्यवसायमा रमाएका छन । खत्रीले विदेशबाट फर्किएको चारपाँच महिनाको अन्तरालमै शुरुमा तीन घारबाट मौरीपालन व्यवसाय शुरु गरेका थिए । खत्रीले अहिले ९२ वटा घारमा मौरीपालन गरेर मह उत्पादन भइरहेको बताए ।

“मैले करिब १४ वर्ष विदेशमा बिताएँ, न राम्रो कमाइ गरेँ, न, शरीरले कहिल्यै सुख पायो”, आफ्नो विदेश बसाइँको तीतो अनुभव सुनाउँदै खत्रीले भने , “विदेश होइन, गर्न सक्ने हो भने हामीले आफ्नै गाउँघरमा मनग्य कमाउन सकिन्छ ।” मौरीपालन व्यवसायमा जिल्लाकै अगुवा कृषकसमेत बनेका खत्रीले गत वर्षको फागुन चैतमा मात्रै झण्डै तीन क्विन्टल मह उत्पादन भएको दाबी गरे । उनले २५० केजीभन्दा बढी मह बिक्री गरेको जानकारी दिए । खत्रीले घरबाटै प्रतिकेजी रु एक हजार ५०० को दरमा मह बिक्री गर्दै आएको बताए । मौरीसहितको घारलाई आठ हजार मूल्य पर्छ । । मौरीपालक कृषक खत्रीले हरेक वर्षको जेठ, कात्तिक र फागुन महिनामा मह काढ्ने गरेका छन । उनले एक मौसममा मात्रै रु चार पाँच लाख मह बिक्री गरेर कमाउछन । गाउँघरमा कात्तिक महिनाको मह राम्रो मान्ने गरिएको छ ।

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका कृषक खत्रीले मौसम अनुकूल र मौरीले राम्रोसँग मह उत्पादन गरेको खण्डमा वर्षमा रु १४ लाख मह बिक्री गरेरै आम्दानी हुने गरेको बताए। उनले जिल्लाको भकिम्ली, राखु, पाँकु, कोत्राबाङ, पैयुँपाटालगायत ठाउँमा मौरीसहितका घार बेच्ने गरेको जानकारी दिए । उनले मौसमले साथ दिएमा र कुनै रोग किरा नलागेको खण्डमा महको उत्पादन बढ्ने हुँदा आम्दानी पनि राम्रै हुने गरेको बताए।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>