चितवन विशेष
माडीमा पहिलोपटक राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला हुने

चितवन, कार्तिक १४–
माडीको धार्मिक, पर्यटकिय एवंम ऐतिहासिक महत्वको क्षेत्र सोमेश्वरगढीमा कार्तिक तेश्रो साता राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला हुने भएको छ ।
‘सुन्दर कलाको ऐतिहासिक सोमेश्वरगढी, इको, कृषि र पर्यटनको गन्तव्य नगरी, माडी राष्ट्रिय प्रस्तर मूर्ति कार्याशाला–२०७६’ नाम दिइएको कार्यशालामा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त ३० जना मूर्तिकारहरुले सोमेश्वर क्षेत्रमा आवासीय रुपमा १८ दिनसम्म विभिन्न प्रकारका प्रस्तर मूर्तिहरु निर्माण गर्ने ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले जानकारी दिए ।
सो कार्यशालामा धार्मिक तथा परम्परागत, वास्तविक तथा समसामयिक वा आधुनिक मूर्ति बनाउने कलाकारहरु माडी क्षेत्रमा आउने कलाकार दिनेश्वर महतोले जानकारी दिए । सोमेश्वरगढी क्षेत्रलाई खुल्ला मूर्ति संग्राहलयको रुपमा विकसित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बनाउनका लागि कार्यशाला कोसेढुङ्गा साबित हुने विभागका प्रमुख लामाले बताए । बिहीबार नै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालसहित ललित कला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख लालकाजी लामा, कलाकार डीआर बराल, दिनेश्वर महतो लगायतले सोमेश्वरगढी क्षेत्रमा पुगेर कार्यशाला स्थलको अवलोकन समेत गरेका छन् ।
यसैबिच, माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा माडी राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला सञ्चालनका लागि १९ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा नगर उपप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, माडी नगरपालिका प्रवक्ता एवं माडी नगरपालिका ९ का वडाध्यक्ष शिवहरी सुवेदी, माडी पर्यटन समितिका अध्यक्ष एवंम माडी नगरपालिका ३ वडाध्यक्ष पुरन प्रसाद महतो, माडी नगरपालिका ५ वडाध्यक्ष रामवन्धु पोख्रेल, माडी नगरपालिका ८ वडाध्यक्ष कृष्णराज अधिकारी, माडी पर्यटन विकास समितिका पूर्व अध्यक्ष, पूर्व सचिव, इलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी बल छरछरेलगायत सदस्य रहेका छन् ।
त्यस्तै नगरपालिका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीको संयोजकत्वमा ७ सदस्यीय प्रचारप्रसार उप–समिति, पिताम्बर पोख्रेलको संयोजकत्वमा ९ सदस्यीय आवास तथा खाद्य व्यवस्थापन उपसमिति, नगरपालिकाको जनस्वास्थ्य शाखाका उपप्रमुख गोविन्द पौडेलको संयोजकत्वमा स्वास्थ्य उपसमिति समेत गठन गरिएको छ ।
























