मध्य नेपाल
आलमलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं कात्तिक ३-
रौतहटमा इटाभट्टामा कार्यरत् मजदुरहरुलाई १२ वर्षअघि जलाएर मारेको आरोपमा २६ असोजमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई म्याद थपका लागि रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै उनलाई अदालतमा पेश गरेको छ रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले थप अनुसन्धानका लागि १० दिन म्याद थप गर्न अनुमति मागिएको बताए।
यसअघि २८ असोजमा पूर्वमन्त्री आलमलाई जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
आलममाथि २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ। संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैत्र २०६४ मा भएको त्यो घटनाको अनुसन्धानका लागि उनलाई ७ दिनअघि पक्राउ गरिएको थियो।
आलमसँग जिल्ला सरकारी वकीलको कार्यालय रौतहटमा आजै बयान लिने तयारी छ । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन् ।


























