चितवन विशेष

बालक अपहरणमा संलग्न ६ भारतीय नागरिक पक्राउ

Banner

भरतपुर,असार ५-

चितवनबाट १६ वर्षीय बालकलाई अपहरण गरी फिरौती माग्ने घटनामा प्रहरीले सफल अपरेशन सञ्चालन गर्दै बालकको सकुशल उद्दार गरेको छ । प्रहरीले काठमाडौंबाट बालकको सकुशल उद्धार गरेको आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । चितवनको भरतपुर महानगरपालिका ३ नारायणगढबाट सोमबार (असार १) साँझ १६ वर्षीय बालकको अपहरण गरिएको थियो । ६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए । उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौंमा लगेका थिए । काठमाडौंका एक होटेलमा बन्धक बनाएर उनका परिवारजनसँग २२ लाख पैसा मागेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको संवेदनशीलता विश्लेषण गर्दै प्राविधिक तथा विशेष अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा अपहरणमा संलग्न व्यक्तिहरू काठमाडौंमा रहेको खुल्न आएपछि चितवन प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा नयाँ बसपार्कस्थित एक होटलबाट बालकको उद्धार गरिएको हो । सो क्रममा पाँच जना अभियुक्तहरु होटलको कोठाबाट र एक जनालाई भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेहरू भारत, बिहार राज्य पश्चिम चम्पारण (बेतिया) जिल्लाका १९ वर्षीय सुजित कुमार साह, १८ वर्षीय मोहम्मद साहिद, १८ वर्षीय गोलु कुमार साह, १८ वर्षीय गोलो सोनी, १९ वर्षीय विक्की पटेल र १८ वर्षीय सक्षम शर्मा रहेका छन । घटनामा संलग्न ममताज आलम र किट्टु चौहान फरार रहेका छन् । अपहरणमा प्रयोग भएको भारतीय नम्बर प्लेटको गाडी तथा केही सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको यादवले जानकारी दिनुभयो । घटनामा संलग्नहरूको आपराधिक पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>