नवलपरासी
काँग्रेसबाट उम्मेदवार बनेका अग्रहरीसहित छ जुवाडे पक्राउ

मोहन पौडेल
परासी, कार्तिक २–
जुवा खेलिरहेको अवस्थामा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ बाट छ जना पक्राउ परेका छन् । सरावल–१ सालबासस्थित अमर तन्दुरी रेष्टुरेण्टमा जुवा खेलिरहेको अवस्थामा गएराती घेरा हाली पाँच जुवाडे र होटल सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नेपाली काँग्रेसबाट सरावल गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका प्रदीप अग्रहरी पनि रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद रु ३९ हजार ५०० पनि बरामद भएको छ । पक्राउ पर्नेमा बर्दघाट, सुनवल नगरपालिका र सरावल गाउँपालिकाका रहेका छन् ।
अग्रहरीसहित बर्दघाट नगरपालिका–४ का विष्णुप्रसाद भण्डारी, बर्दघाट–१३ का बासु खनाल, सरावल–१ क गणेश पाण्डे, सुनवल नगरपालिका–१२ का टोपबहादुर घिमिरे तथा जुवा खेलाउने होटल सञ्चालक लिलाबहादुर चौधरी पक्राउ परेका हुन् ।पक्राउ परेका छ जनालाई अहिले सोही कार्यालयमा राखिएको र आईतबार म्याद थप गरी अनुसन्धान अगाडि बढाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
























