नवलपरासी

बर्दघाट नगरपालिकाको प्रशासनिक भवन उद्घाटन

Banner

परासी, असोज १८–

पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरिएको छ । नयाँ प्रशासनिक भवनसँगै अब नगरपालिकाबाट हुँदै आएको सेवा प्रवाह थप सहज हुनेछ ।

नगरपालिकाले हाल प्रयोग गरिरहेको पुरानो भवनमा पर्याप्त कोठा अभावमा केही शाखा भाडामा सञ्चालन हुँदै आएका थियो । रु चार करोड १२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन अपाङ्गता मैत्री छ । एक सभाहल र २१ कोठा रहेको नवनिर्मित तीनतले भवन चार वर्षमा तयार भएको हो । नवनिर्मित प्रशासनिक भवनबाट दशैँलगत्तै सेवा शुभारम्भ गर्ने नगरपालिकाको तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

भवनको शुक्रबार उद्घाटन गर्दै प्रदेश नं ५ का प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले अव दुईवटै भवनको प्रयोगबाट नगरवासीले सहज, छिटो र सरल तरिकाले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

“स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवाप्रवाह गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

प्रदेश सरकार स्थानीय सरकारसँग हातेमालो गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले प्रत्येक पालिकामा खेल मैदान र बहुउद्देश्यीय सभाहल निर्माण, सडक कालोपत्र लगायतमा स्थानीय सरकारलाई सहयोग गरेको बताउनुभयो ।

बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले अब दशैँपछि नगरपालिकाका दुईवटै भवनबाट सेवा शुरु गरिने बताउँदै सेवा अझै छिटोछरितो हुने बताउनुभयो । नगरपालिकाले २० वर्षे गुरुयोजना र आवधिक योजना बनाएर अघि बढेको उहाँले बताउनुभयो ।

गौतम बुद्धको जन्मभूमिका रुपमा परिचित प्रदेश ५ को पूर्वी प्रवेशद्वारसमेत रहेकाले बर्दघाट नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गसँग जोडिएका हरेक घरलाई गेरु रङ प्रयोग गरी छुट्टै पहिचान दिने अभियान पनि सञ्चालन भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले सेवाग्राहीको सेवा प्रवाहमा कुनै पनि कमी नगर्न कर्मचारीलाई आग्रह गर्दै नगर क्षेत्रको शान्तिसुरक्षा कायम राख्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>